विश्व

जेलबाट इमरान खानले भने- ‘स्वतन्त्रताका लागि १ हजार वर्ष जेल बस्न तयार छु’

इकागज |
भदौ २, २०८० शनिबार ८:३ बजे

फाइल तस्बिर

इस्लामबाद- पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले देशका लागि एक हजार वर्ष जेल बस्न तयार रहेको बताएका छन् ।

तोशाखाना मुद्दामा दोषी पाइएपछि इमरान खानलाइ तीन वर्षको जेल सजाय सुनाइएको छ र हाल उनी पञ्जाब प्रान्तको अटक जेलमा थुनामा रहेका छन्।


पाकिस्तान तहरीक ए इन्साफका प्रमुखका कानुनी टोलीका सदस्य उमियार नियाजीले खानलाई एट्टक जेलमा भेटेपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ठीक र स्वस्थ रहेको ट्रिब्यून पत्रिकाले जनाएको छ। यद्यपि उनको दाह्री बढेको छ। उनलाई ऐना र सेभिङ किट दिइएको छ । 

नियाजीले ६ जनाको टोलीमध्ये आफूलाई मात्र इमरान खानसँग भेट्न अनुमति दिइएको दाबी गरेका छन् । पीटीआई प्रमुखसँगको भेटबारे कुरा गर्दा नियाजी निकै भावुक देखिएका छन् । उनले पत्रकारहरुलाई भने कि भेटमा इमरान खानले भने, “मलाई (जेलमा) सुविधा नपाएकोमा कुनै चिन्ता छैन। मलाई १ हजार वर्ष जेलमा राखे पनि फरक पर्दैन। म यसको लागि तयार छु, किनकि स्वतन्त्रताको लागि बलिदान दिनु पर्छ।’

उल्लेखनीय कुरा के छ भने पूर्व प्रधानमन्त्रीमाथि देशभर १४० भन्दा बढी मुद्दा चलिरहेका छन्, जसमा उनीमाथि आतंकवाद, हिंसा, ईश्वरनिन्दा, भ्रष्टाचार र हत्याको आरोप छ। सोही सिलसिलामा तोशाखाना मुद्दामा दोषी ठहरिए पछि इस्लामावादको ट्रायल कोर्टले उनलाई ३ वर्षको जेल सजाय सुनाएको छ । र, साथै अदालतले आगामी ५ वर्ष चुनाव लड्न नपाउने समेत जनाउँदै एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाएको छ ।


Author

थप समाचार
x