विश्व

नोबेल फाउन्डेसनद्वारा रुसी राजदूतको निमन्त्रणा रद्द

इकागज |
भदौ १६, २०८० शनिबार १८:१४ बजे

फाइल फोटो

स्टकहोम - नोबेल फाउन्डेसनले यस वर्षको नोबेल पुरस्कार समारोहमा रूस र बेलारूसका राजदूतलाई आमन्त्रण गर्ने आफ्नो निर्णय फिर्ता लिन लागेको शनिबार जनाएको छ ।

सन् २०२२ मा, स्टकहोममा वार्षिक नोबेल पुरस्कार समारोह र भोजको आयोजना गर्ने नोबेल फाउन्डेसनले युक्रेनमा युद्धको कारण स्टकहोम पुरस्कार कार्यक्रममा रूसी र बेलारूसी राजदूतहरूलाई निमन्त्रणा नगर्ने निर्णय गरेको थियो ।


विरोध प्रदर्शनको लहरमाथि इरानी सेनाले गरेको दमनलाई लिएर उनीहरूले इरानी राजदूतका सम्बन्धमा पनि यस्तै निर्णय लिएका थिए ।

यद्यपि स्वीडेनको फाउन्डेसनले बिहीबार स्वीडेनमा प्रतिनिधित्व गर्ने सबै देशका राजदूतहरूलाई आमन्त्रण गर्ने आफ्नो पुरानो अभ्यासमा फर्कन लागेको बताएको छ । फाउन्डेसनले शनिबार भनेको छ, “नोबेल पुरस्कारका मूल्य र सन्देशका साथ सकेसम्म व्यापक रूपमा पुग्नु महत्वपूर्ण र सही हो भन्ने मान्यतामा आधारित भएर यो निर्णय गरिएको हो ।”

यद्यपि कडा प्रतिक्रियाहरूले ‘यो सन्देशलाई पूर्ण रूपमा ओझेलमा पारेको’ उल्लेख गरिएको छ ।

फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामी गत वर्षको अपवादलाई नियमित अभ्यासका लागि दोहो¥याउन चाहन्छौं अर्थात् स्टकहोममा हुने नोबेल पुरस्कार समारोहमा रूस, बेलारूस र इरानका राजदूतलाई आमन्त्रण गर्दैनौँ ।”
 
गत वर्ष नर्वेली नोबेल इन्स्टिच्युटले ओस्लोमा आयोजना हुने शान्ति पुरस्कार समारोहमा सबै राजदूतलाई निमन्त्रणा गरेको थियो र फाउन्डेसनले फेरि पनि यस्तै हुने बताएको थियो । राजदूतहरूलाई निमन्त्रणा गर्ने अघिल्लो निर्णयबारे जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ, “पहिलेजस्तै ओस्लोमा हुने समारोहमा सबै राजदूतलाई निमन्त्रणा गरिनेछ ।” रासस


Author

थप समाचार
x