पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा दुई रेल ठोकिँदा २९ जना घाइते
इस्लामावाद, पाकिस्तान- पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुवाहक रेल र मालवाहक रेल एकआपसमा ठोकिँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ ।
प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्यालयका सिफ्ट इन्चार्ज मोहम्मद अतीकले सिन्ह्वालाई बताएअनुसार प्रान्तको शेखपुरा जिल्लामा रेल कर्मचारीको सम्भावित लापरबाहीका कारण स्थानीय समयअनुसार बिहान ४ः३० बजे उक्त घटना भएको हो ।
'रेलका कर्मचारीले यात्रुवाहक रेललाई रोक्न सङ्केत गर्ने स्वीच थिच्नबाट चुकेको र त्यस बखत मालवाहक रेल पहिले नै पार्क गरिएको स्थानमा ठक्कर दिन पुगेको थियो,' अतीकले भने ।
यात्रुवाहक रेल कम गतिमा चलिरहेकाले दुर्घटनाका कारण ठूलो क्षति नभएको बताइएको छ । दुर्घटनामा अधिकांश मानिसहरू सामान्य घाइते भएका छन् ।
'घाइतेमध्ये २७ जनालाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ भने दुई जना गम्भीर घाइतेलाई अस्पताल लगिएको छ,' उनले भने ।
पाकिस्तानी रेल सेवा स्रोतहरूका अनुसार सुरक्षा टोलीले घटनास्थलमा दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ । यदि यो रेल सेवा कर्मचारीहरूको लापरबाही पुष्टि भएमा उनीहरूविरुद्ध कडा कारबाही गरिनेछ । रासस/सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया