धार्मिक उत्पीडनमा परेको भन्दै दुई भारतीय मुस्लिम बाबु छोराले देश छाडे
कराँची- एक भारतीय मुस्लिम बाबु छोराले धार्मिक उत्पीडनबाट बच्न नयाँ दिल्लीस्थित आफ्नो घरबाट भागेको बताएका छन् ।
अवैध रूपमा पाकिस्तान प्रवेश गरेपछि पक्राउ परेका उनीहरूले भारतमा धार्मिक उत्पीडनमा परेपछि देश छाडेर हिँडेको बताएका छन् ।
मोहम्मद हसनैन र उनका छोरा इशाक आमिर पाकिस्तान–अफगान सीमाबाट पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तको चमन क्षेत्रमा अवैध रूपमा घुसपैठ गरेका थिए।
दुवै जना हाल कराँचीको ईधी वेलफेयर ट्रस्टको आश्रय गृहमा छन् । हसनैनले भने, ‘यदि पाकिस्तानी अधिकारीहरूले हामीलाई जेल हाल्न चाहन्छ भने हामी त्यसका लागि तयार छौं। हामी वैध कागजातहरू बिना आएका छौं तर हामी शरण खोज्ने प्रयास गर्नेछौं,’ उनले भने ।
हसनैन (७० वर्ष) र आमिर (३१ वर्ष) नयाँ दिल्लीको गौतमपुरी क्षेत्रका बासिन्दा हुन् । उनले लामो समयदेखि समुदायगत उत्पीडन र धार्मिक उत्पीडनको सामना गर्नुपरेको भन्दै उनले पाकिस्तान भाग्ने निर्णय गरेको जनाएका छन् ।
हसनैनले भने, ‘हामीलाई कराँची आई पुग्न १४ दिन लाग्यो । त्यहाँ पुगेपछि हामीले प्रहरी चौकीमा आत्मसमर्पण गर्यौँ । यसअघि दुवै जना सेप्टेम्बर ५ मा नयाँ दिल्लीबाट दुबई प्रस्थान गरेका थियौं ।’ उनका अनुसार दुबईस्थित अफगानिस्तान दूतावासबाट भिसा लिएका थिए ।
उनले भने, ‘भिसा पाएर हामी काबुलतर्फ लाग्यौँ, त्यहाँबाट सडक हुँदै कान्दाहार गयौँ र त्यहाँबाट चमन नाका हुँदै पाकिस्तान प्रवेश गरेका हौँ,’ उनले भने । दुवैले अफगान एजेन्टको सहयोगमा सीमा पार गर्न सफल भएको र पछि कराँची लैजान ट्याक्सी चालकलाई ६० हजार रुपैयाँ दिएको बताए ।
कराँचीका प्रहरी उपमहानिरीक्षक असद रजाले दुवैलाई जासुस भएको आशंका नगरिएको बताए। उनले आफूलाई धार्मिक पूर्वाग्रह र उत्पीडनको सिकार भएको बताएको जानकारी दिए । पाकिस्तानको विदेश मन्त्रालयले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया