इजरायलमाथि हमासद्वारा भीषण आक्रमण, नेतान्याहुले भने : देशमा युद्ध सुरु भएको घोषणा गर्दछु
गाँजा- मध्यपूर्वमा इजरायल र प्यालेस्टाइनबीचको स्थिति फेरि बिग्रिएको छ । हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन् । सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् ।
केही आतंककारी प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेका थिए । केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । अचानक भएको यो ठूलो हमला पछि इजरायलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । अहिलेसम्म हताहतीकाे खबर आएकाे छैन । भीडन्त अहिले पनि जारी छ ।
मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाइएको छ, यसको विस्तृत विवरण आउन बाँकी छ । प्यालेस्टिनी आतंककारीहरूले गाजा पट्टी हुँदै इजरायलमा आक्रमण गरे र यसको सीमामा प्रवेश गरेका छन् ।
सीएनएनका अनुसार रकेट आक्रमणको लगत्तै प्रधानमन्त्री नेतन्याहुको कार्यालयले प्रधानमन्त्री र रक्षामन्त्रीले तेल अवीवमा उच्चस्तरीय बैठक गरिरहेको बताएको छ । देशका सबै नागरिकलाई सचेत गराइएको छ । सबैलाई घरभित्रै बस्न भनिएको छ ।
हमास लडाकुहरूले इजरायली घरहरू कब्जा गरेका छन् । यसैबीच इजरायली प्रधानमन्त्री नेतन्याहुले हामी युद्धमा रहेको बताएका छन् । उनले भने, ‘यसका लागि हमासले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’
हमासको आक्रमणपछि सञ्चार माध्यममा देखा परेका इजरायलका रक्षामन्त्रीले भिडियो सार्वजनिक गरेका छन् ।
उनले भने, ‘हामासका आतंककारीहरूले आज बिहानै गम्भीर गल्ती गरेका छन् र इजरायलविरुद्ध युद्ध सुरु गरेका छन् । इजरायली सुरक्षा निकायका सिपाहीहरू जताततै दुस्मनसँग लडिरहेका छन् । म इजरायलका सबै नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आह्वान गर्दछु । इजरायलले यो युद्ध जित्नेछ ।
इजरायलमा हमासले गरेको आक्रमणपछि इजरायलको सेना एक्सन मोडमा छ । इजरायली सेनाले आफ्नो आधिकारिक एक्स खातामा हमासको आक्रमणको जवाफमा गाँजा पट्टीमा रहेको आफ्नो स्थानमा आक्रमण गर्न थालेको बताएको छ ।
हमासका प्रवक्ता मोहम्मद डेफले इजरायलमा भएको आक्रमणको जिम्मेवारी लिँदै विश्वको जुनसुकै कुनामा रहेका प्यालेस्टाइनी नागरिकले इजरायलविरुद्ध उभिनु पर्ने बताएका छन् । उनले भने, ‘यरुशलेमको अल अक्सा मस्जिदमा उनीहरूले गरेको आक्रमणको जवाफमा हामीले यो हमला गरेका हौँ ।’
हमासका प्रवक्ता मोहम्मद दीफले लेबनान, सिरिया, इराक र इरानलाई इस्लामको नाममा एकजुट हुन अपिल गरेका छन् । उनले आफ्नो एउटा ट्वीटमा भनेका छन्, ‘हामी इजरायलविरुद्ध अल अक्सा स्टर्म अपरेशन सुरु भएको घोषणा गर्छौं । आज अल अक्साको क्रोध, हाम्रो देशको क्रोध र इस्लाममा विश्वास गर्नेहरूको क्रोध उम्लिरहेको छ ।’
उनले अगाडि भनेका छन्, ‘हातमा बन्दुक लिएर जो कोही घरबाट बाहिर निस्कनुपर्छ । आज इतिहासले यसको सबैभन्दा सानदार र ऐतिहासिक पृष्ठहरू खोलेको छ । म सबै इस्लामका अनुयायीहरूलाई हामीलाई मद्दत गर्न अपील गर्दछु, र सिरिया, लेबनान, इराक र इरानका सबै मानिसहरूलाई झण्डा र सीमानामा एकताबद्ध हुन अपील गर्दछु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया