विश्व

बङ्गलादेशमा रेल दुर्घटनाम मर्नेहरूको सङ्ख्या १५ पुग्यो

इकागज |
कात्तिक ६, २०८० सोमबार १९:४७ बजे

ढाका- बङ्गलादेशमा सोमबार दुई वटा रेल एकापसमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । बङ्गलादेशको किशोरगञ्ज जिल्लामा दुर्घटना भएको जिल्ला अतिरिक्त प्रहरी उपरीक्षक मोस्ताक सरकारले जानकारी दिए । 

बन्दरगाह सहर चट्टोग्रामतर्फ गइरहेको कन्टेनर रेल दिउँसो करिब साढे ३ बजे ढाका गइरहेको एगरोसिन्धुर एक्सप्रेससँग ठोक्किएको थियो । 


'भग्नावशेषबाट अहिलेसम्म १५ वटा शव बाहिर निकालिएको छ,' सरकारले भने । उनका अनुसार दुर्घटनामा एगरोसिन्धुर एक्सप्रेसका कयौँ डिब्बा पल्टिँदा करिब एक सय जना घाइते भएका छन् । उनले मर्नेहरूको सङ्ख्या अझै बढ्ने आशङ्का गरे । 

अधिकारीहरूका अनुसार जीवित अधिकांश यात्रीहरूलाई चोट लागेको छ र उनीहरूलाई अस्पताल पुर्याइएको छ । सयौँ स्वयंसेवक र स्थानीय बासिन्दा अग्निशमनकर्ताहरूसँग सहभागी भएर भग्नावशेषमा फसेका मानिसलाई बचाउन सक्रिय भएका थिए । 


Author

थप समाचार
x