विश्व

बंगलादेशमा गार्मेन्ट मजदूर र प्रहरीबीच झडप

इकागज |
कात्तिक १४, २०८० मंगलबार १८:३६ बजे

ढाका - बंगलादेशका गार्मेन्ट श्रमिकले आफूले बनाउने महत्वपूर्ण पश्चिमा ब्रान्डका कपडाको उचित ज्यालाको माग गर्दै प्रदर्शन गर्दा मजदुर र प्रहरीबीच  झडप भएको छ ।

देशको सबैभन्दा ठूलो औद्योगिक शहर आशुलिया र गाजीपुरमा दर्जनौं कारखानामा कार्यरत दशौं हजार मजदुरले हड्ताल सुरु गरेपछि मंगलबार अधिकारीहरूले अश्रुग्यास र रबरको गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।


गाजीपुरमा मात्र एक हजारभन्दा बढी गार्मेन्ट कारखाना छन् जसले एच एन्ड एम र ग्यापजस्ता ब्रान्डका लागि कपडा बनाउँदछन् ।

आशुलियाका एक वरिष्ठ गार्मेन्ट युनियनका नेता अल कामरानले भने,“मजदुरहरू सडकमा उत्रेका छन् किनभने उनीहरूको तलबले अब दुई छाक टार्नका लागि खर्च धान्न सक्दैन ।

बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्तामध्ये एक हो, जहाँ उद्योगले दक्षिण एसियाली देशको वार्षिक ५५ अर्ब डलरको निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ ।

तर यसका ४० लाख कपडा मजदुरहरूमध्ये धेरैको अवस्था दयनीय छ ।

आशुलिया औद्योगिक क्षेत्रका प्रहरी उपप्रमुख महमुद नासेरले एएफपीसँग भने, “करिब १५ हजार श्रमिकहरू आशुलियाका छुट्टाछुट्टै स्थानमा ज्याला वृद्धिको विरोधमा प्रदर्शनमा सामेल भएका छन् ।

युनियनका नेता कामरानले आशुलियामा मात्रै करिब ५० हजार कामदारले मूल्यवृद्धिलाई धान्न कठिन भएकोले अहिलेको ज्यालामा तेब्बर वृद्धिको माग गर्दै हडतालमा सहभागी भएको बताए । 

आलु र प्याजजस्ता केही आधारभूत खाद्य वस्तुको मूल्य गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको कामरानले बताए । 

उनले भने, “खाद्यान्न, इन्धन तथा घरभाडा पनि बढेको छ । नबढेको एउटा मात्र कुरा भनेको तलब हो ।” 

रासस


Author

थप समाचार
x