मध्यपूर्व युद्धबारे बैठक बसिरहेको बेला अमेरिकाले आणविक पनडुब्बी तैनाथ गरेपछि...
वासिङ्टन डिसी- इजरायल-हमास युद्धको बीचमा अमेरिकी सेनाले एक असामान्य घोषणा गरेको छ ।
सेनाले अमेरिकाको निर्देशित मिसाइल आणविक पनडुब्बी मध्यपूर्वको पानीमा प्रवेश गरेको जनाएको छ । यो पनडुब्बी ओहायो क्लासको हो तर सेनाले यसको नाम भने अझै खुलाएको छैन ।
अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जालमा पनडुब्बीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘ओहायो क्लासको पनडुब्बी आफ्नो जिम्मेवारी क्षेत्रमा प्रवेश गर्दैछ ।’
सीएनएन रिपोर्टका अनुसार ओहायो पनडुब्बी स्वेज नहरको वरपर कतै देखिन्छ । अमेरिकी केन्द्रीय कमाण्डले पनडुब्बीको नाम भने खुलाएको छैन । हाल अमेरिकी नौसेनासँग ४ प्रकारका गाईडेड मिसाइल पनडुब्बीहरू छन् ।
यसबाहेक अमेरिकासँग टमाहक क्रुज मिसाइलले सुसज्जित एसजीएनहरू छन् । एसजीएनले एक पटकमा १५४ टमाहक क्रुज मिसाइल बोक्न सक्छ ।
इजरायल र हमासबीचको युद्धमा अमेरिका इजरायलको समर्थन गर्दै आएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्की, इजरायल, इराक, वेस्ट बैंक, जोर्डनसँग मध्यपूर्वको युद्धको अवस्थाका बारेमा बैठक गरिरहेका बेला अमेरिकाले मध्यपूर्वमा आणविक पनडुब्बी तैनाथ गरेको छ ।
यसपछि एकातिर वार्ताको मञ्च अपनाउने र अर्कोतर्फ समुद्रमा पनडुब्बी परिचालन गरेपछि अमेरिकाको रणनीतिमाथि प्रश्न उठिरहेको छ ।
इराक र सिरियामा रहेका अमेरिकी सेनालाई इरान समर्थित समूहहरूले नियमित रूपमा आक्रमण गर्ने गरेका छन् ।
यसैबीच अमेरिकाले आफूमाथि भइरहेको आक्रमणको जवाफ दिन सक्छ भन्ने सन्देश मध्यपूर्वलाई दिएको विश्वास गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया