विश्व

अत्यधिक धुलोले पाकिस्तानको पञ्जावमा चार दिन बिदा

इकागज |
कात्तिक २२, २०८० बुधबार १०:७ बजे

लाहोर- धुलो र धुवा अत्याधिक बढेपछि पाकिस्तानको पञ्जाब सरकारले चार दिन बिदाको घोषणा गरेको छ । 

मंगलबार प्रान्तिय राजधानी लाहोरलगायत धेरै जनसङ्ख्या भएको प्रान्तका धेरै जिल्लाहरूमा धुवाँको प्रभावलाई कम गर्ने भन्दै चार दिने सार्वजनिक बिदाको घोषणा गरेको छ ।


पञ्जाव सरकारको निर्देशन अनुसार नोभेम्बर ९ देखि १२ सम्म सार्वजनिक बिदा हुनेछ । 

‘धुवाँको प्रभावलाई कम गर्न पन्जाबको लाहोर, गुजरनवाला र हाफिजावाद डिभिजनमा चार दिन बिदाको घोषणा गरिएको छ,’ पञ्जावका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारसँग भने ।

यी डिभिजनमा वातावरणीय र स्वास्थ्य आपतकाल लगाइएकोसमेत उनले बताएका छन् । शैक्षिक संस्था, सार्वजनिक र निजी कार्यालय, रेस्टुरेन्ट, सिनेमा, पार्क र जिम बिहीबारदेखि आइतबारसम्म बन्द रहने उनले जानकारी दिए ।

शनिबार र आइतबार बजार र व्यापार केन्द्र बन्द रहनेछ । यद्यपि यो अवधिमा विवाह हल, औषधि पसल र बेकरी पसलहरू भने खुला रहनेछन् । उनका अनुसार यो बिदा यो साताका लागि मात्रै हो । 

वातावरण प्रदूषण र धुवाँ कम गर्न मुख्यमन्त्रीले बिदाको समयमा घरमै बस्न अपिल गरेका छन् ।


Author

थप समाचार
x