जिम्बाबेमा हैजाको प्रकोप, १२ जनाको मृत्यु
काठमाडौँ- जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्न बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो ।
सहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ । यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरूको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भए पनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरूको भनाइ छ ।
प्रकोपको केन्द्रविन्दु कुवाडजानाको उच्च-घनत्व उपनगर रहेको छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिसहरू छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे सहरले बढ्दो जनसंख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।
हरारेको मुख्य स्रोत लेक चिवेरोबाट सहरले प्राप्त गरिरहेको पानी धेरै दूषित रहेको बताइएको छ । उनले सहरवासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताए । उनले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाइ मात्र स्वच्छ पानी पाउने गरेको बताए ।
जिम्बाबेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तीमा १२ जनाको ज्यान गएको बताए । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ ।
हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामीहरू घटाउने काममा लागिरहेको भए पनि सफल हुन नसकेको स्थानीयहरूको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।
त्यस्तै सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरूको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरूले बताए ।
त्यस्तै अर्का स्थानीयले कहिलेकाहीँ दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताए ।
अधिकारीहरूले सर्वसाधारणलाई अनधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया