विश्व

मेटाले हटायो हजारौं नक्कली खाताका नेटवर्क

इकागज |
मंसिर १६, २०८० शनिबार १४:३४ बजे

काठमाडौँ- फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटाले हालै चीनमा रहेको हजारौं नक्कली खाताका नेटवर्क हटाएको छ । बिहीबार जारी गरेको क्वाटर्ली थ्रेट रिपोर्टमा मेटाले ४ हजार ७ सय भन्दा बढी नक्कली खाताहरू हटाएको बीबीसीले उल्लेख गरेको छ ।  

नक्कली खाता प्रयोगकर्ताहरूले आफूलाई अमेरिकीहरूको रूपमा प्रस्तुत गरेको र अमेरिकी राजनीति र अमेरिका-चीन सम्बन्धको बारेमा ध्रुवीकरणका सामग्री फैलाउन खोजेको मेटाले आरोप लगाएको छ ।


ती नक्कली खाताबाट गर्भपतन, सांस्कृतिक युद्धका मुद्दाहरू र युक्रेनलाई सहायता गर्न खालका  पोस्ट गरिएका समेत बताइएको छ ।

मेटाले उक्त प्रोफाइलहरू बेइजिङका अधिकारीहरूसँग लिंक नगरेको तर सन् २०२४ को अमेरिकी चुनाव अघि चीनमा आधारित त्यस्ता नेटवर्कमा वृद्धि भएको जनाएको छ । 

रुस र इरानपछि चीन अहिले त्यस्ता नेटवर्कको तेस्रो ठूलो भौगोलिक स्रोत भएको समेत कम्पनीले जनाएको छ । चीनमा आधारित नेटवर्कमा ४ हजार ७ सयभन्दा बढी खाताहरू र विश्वभरका अन्य प्रयोगकर्ताहरूबाट प्रतिलिपि गरिएका प्रोफाइल तस्विर र नामहरू समेत समावेश गरिएका छन् । 

हटाइएका नक्कली खाताहरूले एक अर्काको पोष्टहरू लाइक र सेयर गरेका र केही पोस्टहरू एक्स अर्थात् ट्विटरबाट लिइएको समेत पाइएको छ । उक्त पोस्टहरू जनमतलाई हेरफेर गर्न प्रयोग गरिने कम्पनीले बताएको छ । 

उक्त चिनियाँ नेटवर्क वास्तविक प्रयोगकर्ताहरू बीच सुरु हुनु अघि नै रोकिएको समेत कम्पनीले जनाएको छ । 
 


Author

थप समाचार
x