विश्व

बेपत्ता नभाल्नीलाई तत्काल रिहा गर्न इयुको माग

इकागज |
मंसिर २७, २०८० बुधबार ६:५५ बजे

ब्रसेल्स- युरोपेली युनियन (इयु)ले कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई तत्काल रिहा गर्न आह्वान गरेको छ । नभाल्नीका सहयोगीहरूले उनी बेपत्ता भएको बताएका छन् । उनको टिमका अनुसार कयौँ अदालती सुनुवाइमा उनी सहभागी भएका छैनन् । नभाल्नीका वकिलहरूलाई उनलाई कारागारबाट कुनै अज्ञात स्थानमा लगिएको बताइएको छ । 

“सात दिनदेखि नभाल्नी बेपत्ता भएको अत्यन्त चिन्ताजनक खबर”, इयुका विदेश नीति प्रमुख जोसेप बोरेलले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनेका छन्, “रुसको राजनीतिक नेतृत्व उहाँको कारागारमा सुरक्षा र स्वास्थयका लागि जिम्मेबार छ, यसका लागि उनीहरूलाई जवाफदेही बनाइने छ ।”


उनले नभाल्नीलाई राजनीतिबाट प्रेरित कैदबाट तत्काल बिनाशर्त रिहा गर्न आग्रह गरे । 

सन् २०२० मा सोभियत युगको स्नायु एजेन्ट नोभिचोकको विषाक्तताबाट बाँचेका नभाल्नीले ‘चरमपन्थी’ र धोखाघडीलगायतका धेरै आरोपमा रुसी अदालतले दोषी ठहर गरेपछि १९ वर्षको कारागार सजाय भोगिरहेका छन् । 

उनका सहयोगीहरूले नभाल्नी बेपत्ता हुनुलाई राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मार्चमा पाँचौँ राष्ट्रपतिकालका लागि निर्वाचन लडेर लामो शासन विस्तार गर्ने योजना बनाएको घोषणासँग जोडेका छन् ।

अमेरिकाले नभाल्नीसम्म पुग्न वा उनको अवस्था थाहा पाउन सहयोगी टिमको असमर्थताप्रति ‘गहिरो चिन्ता’ रहेको भन्दै ‘हस्तक्षेप’ शब्द प्रयोग गरेकामा क्रेमलिनले मङ्गलबार वासिङ्टनको आलोचना गरेको छ । (एएफपी)


Author

थप समाचार
x