विश्व

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ

इकागज |
मंसिर २७, २०८० बुधबार १८:४९ बजे

नयाँ दिल्ली - भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लंघनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए ।

सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए । 


अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । 

उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन । 

केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए । 'दुवै व्यक्तिलाई पक्राउ गरिएको छ र बाहिरका दुई जनालाई पनि पक्राउ गरिएको छ', उनले भने,  'संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ ।'

चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए । 

सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न' उठाएको बताए ।  घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए । 

नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो । 

प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । उनले भने, 'खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ ।'


Author

थप समाचार
x