गाजामा ७५ दिनमा १३६ संयुक्त राष्ट्रसंघका कर्मचारी मारिए
फाइल फोटो
न्यू्रयोर्क - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसंघका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घर छोड्न बाध्य पारिएको बताएका छन् ।
राष्ट्र संघको इतिहासमा यति धेरै सङ्ख्यामा आफ्ना कर्मचारीको हताहत भएको अहिलेसम्मको दुर्लभ घटना हो ।
'गाजामा हाम्रा १३६ सहकर्मी ७५ दिनमा मारिएका छन्, जुन हामीले राष्ट्रसंघको इतिहासमा कहिल्यै देखेका छैनौं । हाम्रा अधिकांश कर्मचारीलाई घरबाट निकालिएको छ,' संयुक्त राष्ट्रसंघका प्रमुखले एक्स पोस्टमा लेखेका छन् ।
उनले भने, 'म गाजामा सर्वसाधारणलाई सहयोग गर्ने हजारौं सहायताकर्मीप्रति आधार प्रकट गर्दछु ।'
अक्टोबर ७ मा इस्लामिक कट्टरपन्थी समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा द्वन्द्व चर्किएको थियो ।
करिब दुई हजार ५०० को सङ्ख्यामा हवाई, जल र स्थल मार्गबाट आक्रमणकारी लडाकू प्रवेश गरी इजरायली क्षेत्रमा आक्रमण गरेका थिए । जसका कारण करिब एक हजार १४० जनाको हत्या गरेको थियो भने करिब २५० जनालाई बन्धक बनाएको इजरायली तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसपछि इजरायलले निरन्तर हवाई र जमीनी अभियानको साथ आक्रमणको बदलामा जवाफ दिइरहेको छ । गाजा पट्टीस्थित हमास सरकारको सञ्चार कार्यालयले बुधबार दिएको जानकारीअनुसार कम्तीमा २० हजार व्यक्तिको मृत्यु भएको छ, जसमध्ये आठ हजार बालबालिका र छ हजार २०० महिला रहेका छन् ।
इजरायलले गाजा आक्रमणलाई हमासको सम्पूर्ण आतंककारी समूहलाई समाप्त गर्नका लागि पूर्वाधारलाई लक्षित गरेको र नागरिक हताहती लाई कम गर्ने प्रयासको रूपमा चित्रण गरेको छ । इजरायलको प्रतिरक्षा बलले गाजा शहरको शेजैया छिमेकमा पूर्ण ‘अपरेशनल कन्ट्रोल’ स्थापित गरेको बताएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया