विश्व

फ्रान्सले बन्द गर्‍यो नाइजेरियाको दूतावास

इकागज |
पुस १८, २०८० बुधबार ८:५९ बजे

पेरिस- नाइजेरियामा रहेको फ्रान्सेली दूतावास अर्को सूचना नभएसम्म बन्द भएको छ ।

फ्रान्सेली विदेश मन्त्रालयले नाइजेरियामा रहेको दूतावास अर्को सूचना नगरेसम्म बन्द भएको जानकारी दिएको हो ।


फ्रान्सेली विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा भने- ‘पाँच महिनादेखि हाम्रो दूतावास गम्भीर रूपमा बाधा परिरहेको थियो, जसका कारण कूटनीतिक नियोगमा अवरोध पुग्दै आएको छ ।’

‘दूतावास वरपरको नाकाबन्दी लगाइएको थियो, कर्मचारीहरूको लागि यात्रा प्रतिबन्ध थियो र कुनै पनि कूटनीतिक कर्मचारीलाई नाइजेरियामा यात्रा गर्न अनुमति दिन अस्वीकार गर्नु कूटनीतिक सम्बन्धमा भियना महासन्धिको स्पष्ट उल्लङ्घन थियो,’ विज्ञप्तिमा भनिएको छ ।

जसका कारण नाइजेरियामा रहेका दूतावास बन्द गर्ने एक अत्यन्त दुर्लभ निर्णय डिसेम्बर २२ मा गरियो र नाइजेरियामा तैनाथ अन्तिम फ्रान्सेली सैनिकहरूको फिर्तासमेत गर्ने निर्णय लिइएको मन्त्रालयले जनाएको छ ।

नाइजेरियामा गत जुलाईमा सैन्य कूमार्फत राष्ट्रपति मोहम्मद बजौमलाई हटाइएको थियो । जुलाई २६ मा भएको विद्रोहपछि नयाँ सत्तारुढ सेनाले तुरुन्तै १५ सय फ्रान्सेली सैनिकहरूलाई देश छाड्नुपर्ने सर्त राख्यो र पेरिससँग सो अघि भएका सबैजसो सैन्य सम्झौताहरूको निन्दा गरेको थियो ।

जसका कारण नाइजेरियाको नयाँ सरकार र फ्रान्सबीच तिक्तता बढ्‌न पुगेको थियो, जसको परिणाम अन्तत फ्रान्सले नाइजेरियामा रहेको दूतावास नै अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय लिएको हो ।


Author

थप समाचार
x