शेख हसिनाको पार्टीलाई बहुमत, फेरि प्रधानमन्त्री बन्ने पक्का
ढाका- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदारले भने, 'अवामी लिगले आइतबार सम्पन्न निर्वाचन जितेको छ । प्रधानमन्त्री हसिनाको दल अवामी लिगले २२३ सिट जितेको छ । निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।'
विजयी भएका सांसद्मध्ये अधिकांश अवामी लिगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो विजयपछि हसिना पाँचौ पटकका लागि पुनः देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ ।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशंका गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)सहितका केही दलले आइतबारको मतदान बहिस्कार गरेका थिए ।
मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभव निकै कम रहेकाले हसिनाको पार्टी र साझेदारहरूले थप सिट पनि जित्ने अनुमान गरिएको छ ।
बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को संज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतबार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।
बंगलादेशको निर्वाचन आयोगले निर्वाचनमा झण्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त संख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो ।
निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकाले निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ ।
शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौँथो पटक निर्वाचित भएकी थिइन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया