विश्व

शेख हसिना बंगलादेशको नयाँ प्रधानमन्त्री

इकागज |
पुस २६, २०८० बिहीबार १५:३६ बजे

ढाका - बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । हसिनाको नयाँ मन्त्रिपरिषद् ३७ सदस्यीय हुने भएको छ । 

मन्त्रिपरिषद्मा प्रधानमन्त्री हसिनासहित २५ जना क्याबिनेट मन्त्री र ११ राज्यमन्त्री रहेको क्याबिनेट सचिव महबुब हुसेनले जानकारी दिए ।


बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

उनको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।

आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधबार सांसद् पदको सपथ लिएका थिए ।  

निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ । 
 


Author

थप समाचार
x