माल्दिभ्सलाई दिने आर्थिक सहायतामा भारतले गर्यो २२ प्रतिशतले कटौती
नयाँदिल्ली- भारतले माल्दिभ्सलाई दिने आर्थिक सहयोगमा कटौती गरेको छ ।
भारतले हिजो आर्थिक वर्ष २०२४–२५ को लागि अन्तरिम बजेट प्रस्तुतमा आर्थिक सहयोग कटौती गरेको हो । सो बजेट अन्तर्गत भारतले २०२४–२५ आर्थिक वर्षको लागि माल्दिभ्सको सहायतामा २२ प्रतिशत कटौतीको प्रस्ताव गरेको छ। जसअनुसार माल्दिभ्सको विकासका लागि बजेटमा ६०० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यद्यपि यो सरकारले कुनै पनि विदेशी मुलुकलाई दिने तेस्रो ठूलो रकम हो । तर यसअघि दिएको सहयोगको तुलनामा भने यो घटेको छ । सन २०२३–२४ मा भारत सरकारले माल्दिभ्सलाई ७७०.९० करोड भारतीय रुपैयाँ सहयोग गरेको थियो । सो अघि सन २०२१–२२ मा १८३.१६ करोड भारतीय रुपैयाँ दिएको थियो। माल्दिभ्सलाई भारतीय विदेश मन्त्रालयमार्फत विभिन्न योजना अन्तर्गत यो सहयोग उपलब्ध गराउँदै आएको छ ।
पछिल्ला केही वर्षदेखि माल्दिभ्सलाई आर्थिक सहायता प्रदान गर्ने देशहरूमा भारत अग्रणी रहेको छ। भारतले माल्दिभ्सलाई रक्षा, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा धेरै सहयोग गरिरहेको छ । तर, पछिल्लो दिनमा सबन्धमा दरार उत्पन्न भएपछि भारतले दिने माल्दिभ्सको बजेट घटाएको हो ।
साथै भारत सरकारले आगामी आर्थिक वर्षका लागि विदेशी मुलुकलाई दिइने कुल अनुदानमा पनि १० प्रतिशतले कटौती गरेको छ । भारतले २०२४–२५ को लागि विदेशी देशहरूलाई सहायताको लागि ४८८३.५६ करोड भारतीय रुपैयाँ मात्र विनियोजन गरेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया