फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चमत्कारिक’ उद्धार
मनिला - फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ ।
वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन ।
दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग गरेर बाँचेकाहरूको खोजी गरिरहेको अवस्थामा उनी फेला परेको डाभाओ डी ओरो प्रान्तका विपद् निकायका अधिकारी एडवर्ड म्याकापिलीले एएफपीलाई बताए । “यो एक चमत्कार हो”, मकापिलीले भने, “यसले उद्धारकर्ताहरूलाई आशा जगाएको छ ।
बच्चाको लचिलोपन सामान्यतया वयस्कहरूको तुलनामा कम हुन्छ, तैपनि बच्चा बाँचेको छ ।” खोजीकर्ताहरूले हराएका बाँकी व्यक्तिहरू जीवित भेटिने आशा निकै कम रहेको बताएका छन् ।
एक उद्धारकर्मीले रोइरहेको, माटोले पोतिएको बच्चालाई काखमा लिएर गएको भिडियो फेसबुकमा शेयर गरिएको छ । म्याकापिलीले भने, “सामाजिक सञ्जालको पोस्टमा बच्चालाई कुनै पनि चोटपटक नलागेको अवस्थामा देखिन्छ ।”
बालिकालाई स्वास्थ्य परीक्षणका लागि लैजानुअघि उनका पिताले बच्चालाई भेटेको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।
मङ्गलबार राति आएको पहिरोले घरहरू भत्कनुका साथै सुनखानीबाट कामदार लिन पर्खिरहेका तीन वटा बस र जीपसमेत जलेका थिए । घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३१ जना घाइते भएका छन् भने एक सयभन्दा बढी अझै हराइरहेका सरकारी अधिकारीहरूले बताएका छन् ।
शुक्रबार यस क्षेत्रमा वर्षा भएपछि खोजीकर्ताहरूले समय र मौसमसँग जुध्दै बाक्लो हिलोमा अरू कोही पनि जीवित फेला पार्ने आशामा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।
उद्धारकर्ताहरूले ठाउँठाउँमा गह्रौं माटो सार्ने उपकरणहरू प्रयोग गरिरहेका छन् तर तिनीहरूले आफ्नो नाङ्गो हात र बेल्चाको भरमा दर्जनौँ व्यक्तिलाई सकुशल र १५ जनालाई मृत अवस्थामा पहिरोबाट बाहिर निकालेका छन् ।
माटो र भग्नावशेषमा पुरिएकाहरू पत्ता लगाउन खोजी कुकुरको पनि प्रयोग गरिएको छ ।
मिन्दानाओको केही भागमा हप्तौंदेखि परेको वर्षाका कारण दर्जनौँ पहिरो र बाढीका कारण दशौँ हजार मानिस आपतकालीन आश्रयस्थलमा बस्न बाध्य भएका छन् ।
हालैका महिनाहरूमा आएको विनाशकारी भूकम्पले पनि यस क्षेत्रलाई अस्थिर बनाएको छ । थप पहिरो जाने डरले मसरा र आसपासका चार गाउँका सयौं परिवारले आफ्नो घर छोडेर आपतकालीन केन्द्रमा आश्रय लिनुपरेको छ ।
नगरपालिकाभरका विद्यालयले पठनपाठन बन्द गरेका छन् ।
सन् २००७ र २००८ मा गएको पहिरोपछि पहिरो प्रभावित क्षेत्रलाई ‘नो बिल्ड जोन’ घोषणा गरिएको तर गाउँलेहरुले आफ्नो जन्मथलो छोड्न नमान्दा पहिरोबाट पिडीत हुनुपरेको मकापिलीले बताए ।
उनले भने, “सरकारले उनीहरूलाई सार्न गरेको आग्रहलाई मानेको भए दुर्घटना हुने थिएन ।”
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया