विश्व

पाकिस्तान निर्वाचन : नवाज सरिफ र बिलाबल भुट्टाे मिलेर सरकार बनाउने सम्भावना

इकागज |
माघ २७, २०८० शनिबार १४:४२ बजे

काठमाडौँ- पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन्, यद्यपि सरकार गठनका लागि प्रयास भने सुरु भइसकेकाे छ । 

पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका बफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन् ।


पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट आवश्यक छ । अहिलेसम्म इमरान खानको पार्टीले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले ९१ सिट प्राप्त गरेका छन् भने नवाज सरिफको पीएमएल–एनले ७१ सिट र बिलाबल भुट्टोको पीपीपीले ५४ सिट ल्याएको छ । अन्य दलले ३५ सिटमा जीत हासिल गरेका छन । अझै १५ सिटको मतगणना बाहिर आउन बाँकी रहेको छ ।

तर, जियो न्यूज रिपोर्टका अनुसार पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल-एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) केन्द्र र पन्जाबमा गठबन्धन सरकार बनाउन सहमत भएका छन् । 

केन्द्र सरकारको तहमा पनि दुई समूहका बीच सहमति भइसकेको छ । पीएमएल-एनका अध्यक्ष शहबाज सरिफले पीपीपीका अध्यक्ष बिलाबल भुट्टो र पूर्व राष्ट्रपति आसिफ अली जरदारीलाई भेटेर पाकिस्तानका लागि मिलेर काम गर्न निम्तो दिएका छन्।

उता, इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले इस्लामावादको तीन सिटको नतिजामाथि प्रश्न उठाएको छ । यी सिटको नतिजालाई चुनौती दिँदै पीटीआई उच्च अदालत पुगेको छ । छिट्टै निवेदन दायर गरिनेछ । एजेन्सी


Author

थप समाचार
x