श्रीलंकाले शिक्षा प्रणालीमा एआई पाठ्यक्रम लागू गर्ने
कोलम्बो- श्रीलंकाको मन्त्रिपरिषद्ले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआई) का धेरै पाठ्यक्रम लागू गर्ने प्रस्तावलाई स्वीकृति दिएको सरकारको सूचना विभागले मङ्गलबार जनाएको छ ।
उक्त प्रस्ताव कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा गरिएको विभागले जनाएको छ । विभागका अनुसार परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने छ ।
परियोजनाको एक हिस्साका रूपमा मन्त्रिपरिषद्ले श्रीलंका नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले हाल लागू गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि प्रस्तावित पाइलट परियोजना सुरु गर्न स्वीकृति दिएको विभागले बताएको छ ।
मन्त्रिपरिषद्ले माइक्रोसफ्ट इन्स्टिच्युटले दिने सुविधाअन्तर्गत पाइलट परियोजनाका लागि छनोट गरिएका विद्यालयको डिजिटलीकरण तथा एक सय जना सूचना एवं सञ्चार प्रविधि विषयका शिक्षकहरूलाई प्रशिक्षण दिने प्रस्तावलाई पनि स्वीकृति दिएको छ । रासस/सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया