अमेरिकी राष्ट्रपतिका लागि ट्रम्पभन्दा बाइडन उत्कृष्ट : रुसी राष्ट्रपति पुटिन
फाइल तस्बिर
मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति पदका लागि डोनाल्ड ट्रम्पभन्दा जो बाइडेनलाई उत्कृष्ट ठान्ने बताएका छन् ।
रुसी पत्रकार पावेल जरुबिन पुटिनको अन्तरवार्ता लिइरहेका थिए । यस क्रममा उनले रुसी राष्ट्रपतिलाई सोधे कि रुसका लागि डेमोक्रेट बाइडन वा रिपब्लिकन ट्रम्प कसलाई राम्रो मान्छन् ? जसको अहिले अमेरिकामा निकै चर्चा परिचर्चा भइरहेको छ ।
यसको जवाफमा पुटिनले हिचकिचाउँदै जवाफ दिए– ‘बाइडन, ‘उहाँ धेरै अनुभवी हुनुहुन्छ, उहाँको बारेमा अनुमान गर्न सजिलो छ । बाइडन पुरानो विचारको राजनीति गर्नेमध्ये एक हुन् । तर, हामी कुनै पनि अमेरिकी राष्ट्रपतिसँग काम गर्न तयार छौँ ।’
पुटिनले अमेरिकी राष्ट्रपतिको चुनाव २०२४ को सन्दर्भमा सार्वजनिक मञ्चमा कुनै वक्तव्य दिएको यो पहिलो पटक हो । यसअघि बाइडनको मानसिक स्वास्थ्यबारे पुटिनले भनेका थिए– ‘मैले उनलाई ३ वर्षअघि स्विट्जरल्याण्डमा भेटेको थिएँ । त्यतिबेला पनि मानिसहरूले बाइडनले आफ्नो काम गर्न नसक्ने भनिरहेका थिए । तर, उहाँलाई भेटेपछि मलाई त्यस्तो केही लागेन ।’
गत वर्ष जुनमा हेलिकप्टरमा चढ्ने क्रममा बाइडनको टाउको त्यससँग ठोक्किएको थियो । यसमा पुटिनले मजाकको स्वरमा भने, ‘हामी सबैको कुनै न कुनै बेला टाउको ठोक्किएको छ । यदि हामी ट्रम्पको बारेमा कुरा गर्छौं भने, उहाँ एक राजनीतिज्ञ हुनुहुन्छ, जो प्रणालीबाट टाढा जान्छन् । धेरै मामिलामा उनको फरक दृष्टिकोण छ । अमेरिकाले आफ्ना सहयोगीहरूसँग कसरी सम्बन्ध निर्माण गर्ने भन्ने बारेमा पनि उनीहरू फरक सोच्छन् ।’
यसै वर्ष अमेरिकामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि बाइडन र ट्रम्पबीच फेरि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
यसैबीच चुनावी अभियानका क्रममा ट्रम्पले भने पुटिनप्रति लगातार नरम दृष्टिकोण अपनाएका छन् । हालै एक अन्तरवार्तामा ट्रम्पले भनेका थिए, धेरै नाटो देशहरूले आफ्नो रक्षा क्षेत्रमा धेरै पैसा खर्च गरिरहेका छैनन् । यदि यो जारी रह्यो भने म रसियालाई यी देशहरूमा आक्रमण गर्न उक्साउने छु । ट्रम्पले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकालमा पनि पुटिनको आलोचना गर्नबाट जोगिने देखिन्छ। यस्तो अवस्थामा ट्रम्प राष्ट्रपति बनेमा रुसप्रति कठोर रवैया अपनाउँदैनन् भन्ने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया