साउदी अरबमा एकै दिन शिर काटेर सात जनालाई दिइयो मृत्युदण्ड
फाइल तस्बिर
रियाद- साउदी अरबले हालै सात जनालाई मृत्युदण्ड दिएको छ । साउदी अरबको सरकारी सञ्चार माध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा सात जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो ।
सन् २०२२ को घटनापछि एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो, त्यसपछि एकै दिनमा यति धेरै मानिसलाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हो । मार्च २०२२ मा मात्रै साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको थियो ।
साउदी अरेबियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै साउदीको आधिकारिक प्रेस एजेन्सीले जनाए अनुसार ती सात जनालाई आतंकवादी संगठन र संस्थाहरू सिर्जना गर्ने र आतंकलाई आर्थिक सहयोग गरेकोमा दोषी पाइएपछि उनीहरूलाई टाउको काटेर यो मृत्युदण्डको सजाय दिइएको हो । तर, यसरी मंगलबार मृत्युदण्ड दिएकाहरूको राष्ट्रियता भने साउदी अरबले अझै खुलाएको छैन ।
साउदी समाचार एजेन्सीका अनुसार उनीहरूले आतंकवादी दृष्टिकोण अपनाए, जसले मानिसहरूलाई रक्तपात मच्चाउनका लागि उक्साउने काम गरेका थिए । यसबाहेक आतंकवादी संगठन र संस्थाहरूको स्थापना, आर्थिक सहयोग र सञ्चारले सामाजिक सुरक्षा र स्थिरतामा बाधा पुर्याउने कार्य गरे पछि उनीहरू मृत्युदण्डका लागि लायक भएको जनाइएको छ ।
अन्तराष्ट्रिय मानवअधिकार संस्थाहरूका अनुसार साउदी अरब संसारमा सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । सन् २०२३ मा १७० जनालाई मृत्युदण्ड दिइएको थियो भने यो वर्ष मात्रै अहिलेसम्म २९ जनालाई फाँसी दिइ सकिएको छ ।
दुई वर्षअघि साउदी अरबमा एकै दिन ८१ जनालाई फाँसी दिइँदा विश्वव्यापी रूपमा आक्रोश मच्चिएको थियो । एम्नेस्टी इन्टरनेशनलका अनुसार साउदी अरेबियाले २०२२ मा चीन र इरान बाहेक अन्य कुनै पनि देशको तुलनामा बढी मृत्युदण्ड दिएको थियो ।
गत वर्ष डिसेम्बरमा साउदी अरबले सबैभन्दा बढी मृत्युदण्ड दिएको थियो । त्यो महिना ३८ जनालाई मृत्युदण्ड दिइएको थियो । २०२३ मा मृत्युदण्डको सजाय सुनाइएकामा देशद्रोहको अभियोगमा दोषी ठहरिएका दुई सैनिक र आतंकवादी गतिविधिमा संलग्न ३३ जना थिए ।
सन् २०२२ मा साउदी अरबमा १४७ जनालाई फाँसी दिइएको थियो, जसको मानव अधिकारकर्मीहरूले निरन्तर आलोचना गर्दै आएका छन् । त्यस्तै, २०१९ मा साउदीमा १८७ जनालाई मृत्युदण्ड दिइएको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया