विश्व

बेलायतकी राजकुमारी मिडलटनलाई क्यान्सर

इकागज |
चैत १०, २०८० शनिबार ९:१० बजे

काठमाडौँ- बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ । राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो । उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन् ।

भिडियोमा उनले भनेकी छन् 'केही अविश्वसनीय कठिन महिनाहरूपछि ठूलो झट्‌का लागेको थियो । म अहिले ठिक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु ।'


बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ ।

राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो तर त्यति बेला क्यान्सर भएको थाहा नभएको बताइएको छ ।

राजकुमारी केटले भनेकी छन् 'यद्यपि शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो । मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनुपर्ने सल्लाह दियो । म उपचारको प्रारम्भिक चरणमा छु ।'

उनको केमोथेरापी फेब्रुअरीको अन्त्यमा सुरु भएको थियो । दरबारले भने यस समयमा कुनै पनि व्यक्तिगत चिकित्सा जानकारी साझा नगर्ने बताएको छ । यो कस्तो क्यान्सर हो भन्‍नेबारे राजकुमारीले बताएकी छैनन् ।


Author

थप समाचार
x