विश्व

चीन, दक्षिण कोरिया र जापानले पाँच बर्षपछि पहिलो पटक एकै स्थानमा

इकागज |
जेठ १०, २०८१ बिहीबार १६:२५ बजे

सियोल - दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ । 

राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताए । युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताएका छन् । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उनले बताए । 


“आगामी शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्नेछ,” किमले भने । तीन देशका नेताहरूले अन्तिम पटक २०१९ मा भेट गरेका थिए । 

कोरियाली प्रायद्वीपमा जापानको १९१०–१९४५ सम्मको शासनलाई लिएर जापान र दक्षिण कोरियाबीच कानुनी विवाद जारी छ । 

तर आणविक हतियारधारी प्योङयाङले निम्त्याएको बढ्दो खतराका कारण दक्षिण कोरियाका युनले लामो समयदेखि सहयोगी रहेको वासिङ्टनसँगको सम्बन्धलाई बलियो बनाउँदै जापानसँगको ऐतिहासिक वैमन्स्यता अन्त्य गर्न अघि सरेका छन् । 

गत वर्ष अगस्टमा संयुक्त राज्य अमेरिकाको क्याम्प डेभिडमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि सियोल, टोकियो र वासिङ्टनले घनिष्ठ त्रि–पक्षीय सुरक्षा सहयोगको ‘नयाँ अध्याय’ घोषणा गरेका थिए। त्यस समय शिखर सम्मेलनमा तीन सहयोगीहरूले दक्षिण चीन सागरमा चीनको ‘आक्रामक व्यवहार’ बारे गरेको आलोचनालाई लिएर बेइजिङले उजुरी दर्ता गरेको थियो । 

नयाँ त्रिपक्षीय शिखर सम्मेलनको बिहीबारको घोषणा बेइजिङले दक्षिण कोरियाली र जापानी कूटनीतिज्ञहरूलाई ‘ताइवानका बारेमा मुद्दाहरू’ छलफल गर्न बोलाएको एकदिन पछि आएको हो । सियोलको योन्हाप समाचार एजेन्सीका अनुसार सोमबार ताइवानका राष्ट्रपति लाइ चिङ–टे को उद्घाटनमा दक्षिण कोरियाली सांसद र सियोलका प्रतिनिधिको ताइपेईमा उपस्थितिको चीनले निन्दा गरेको छ । 

सियोलको विदेश मन्त्रालयले बिहीबार दक्षिण कोरियाको ‘एक चीन नीतिलाई सम्मान गर्ने’ स्थितिमा ‘कुनै परिवर्तन नभएको’ बताएको छ । “हाम्रो सरकारले ताइवानको मुद्दामा चीनसँग पनि कुराकानी गरिरहेको छ, चीन हाम्रो सरकारको स्थितिसँग अवगत छ हामीलाई लाग्छ,” विदेश मन्त्रालयका प्रवक्ता लिम सू–सुकले पत्रकारहरूलाई बताए । 

चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर यो उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक लाभार्थी र कूटनीतिक सहयोगी बनेको छ । रासस


Author

थप समाचार
x