विश्व

काबुलस्थित अमेरिकी दूतावासमा कोभिडबाट ११४ सङ्क्रमित

इकागज |
असार ५, २०७८ शनिबार ८:४२ बजे

काबुल : अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी दूतावासमा अत्यधिक व्यक्तिमा कोभिड–१९ सङ्क्रमणपछि दूताबास क्षेत्रलाई लकडाउन गरिएको छ ।

दूताबासका एक कर्मचारीको मृत्यु भएको र ११४ कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको युएसए टुडेले दूताबास अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ । धेरै कर्मचारी सङ्क्रमित भएपछि अमेरिकी अधिकारीहरुले अस्थायी कार्यस्थल बनाई प्रशासनिक कामलाई निरन्तरता दिइएको बताइएको छ । 


दूतावासको स्वास्थ्य एकाईका कर्मचारी शेन पियर्सद्वारा जारी सूचनामाभनिएको छ, 'कोभिड–१९ को सङ्क्रमण काबुलस्थित अमेरिकी नियोगमा समेत देखिएको छ । शुक्रबारसम्म दूताबासका ११४ जना सङ्क्रमित भेटिएका छन् भने एकको मृत्यु भएको छ ।' 

दूताबास स्रोतका अनुसार अमेरिकी सैनिक अस्पतालमा सघन उपचार एकाइ तयार गरी  अक्सिजन चाहिने कर्मचारीहरूलाई सेवा दिइएको छ । 

भाइरसको पछिल्लो प्रकोपले विभिन्‍न देशमा रहेका अमेरिकी वैदेशिक सेवा संघ (एएफएसए) लाई प्रभाव पारेको छ । अमेरिकी राष्ट्रपति जो बिडेनलाई विदेशमा रहेका सबै सरकारी कर्मचारीहरूलाई केही अपवादको साथ खोप लगाउन पनि आग्रह गरेका छन् । 

एएफएसएका प्रमुख एरिक रुबिनले भने, 'हाम्रो बुझाइ यो छ कि विश्वका प्रत्येक नियोग तथा दूतावासका लागि पर्याप्त खोप रहेको छ यसलाई समयमै लगाउन प्रशासनले आग्रह गर्दछ ।' 

अफगानिस्तानमा देशब्यापी सङ्क्रमणपछि गत हप्ता, अफगानिस्तानका अमेरिकी कूटनीतिक नियोगले दूतावासको कन्सुलर सेक्सनमा भिसा सञ्चालनलाई स्थगित गरेको थियो । 

दूताबासमासमेत प्रकोपको असर भेटिएपछि दूतावासको कन्सुलर सेक्शनले जुन १३ देखि अनिश्चित समयका लागि अतिआबश्यकबाहेकका काम स्थगित गरिरहेको छ ।' 

जोन्स हकिन्स विश्वविद्यालयका अनुसार अफगानिस्तानमा हालसम्म ९६ हजार ५३१ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको छ भने सङ्क्रमितमध्ये तीन हजार ८४२ जनाको मृत्यु भएको छ । (एएनआई)


Author

थप समाचार
x