विश्व

इजिप्टले गैरकानुनी रूपमा हज यात्रामा पठाउने संस्थामाथि प्रतिबन्ध लगाउने

इकागज |
असार ९, २०८१ आइतबार १८:४३ बजे

कायरो- इजिप्ट सरकारले प्रशासनको स्वीकृति नलिई वा दर्ता नगरी गैरकानुनी रूपमा साउदी अरबमा हज यात्राको व्यवस्था गरेकोमा १६ वटा ट्राभल एजेन्सीको सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । 

साउदी सहरमा चरम गर्मीका कारण गत हप्तामा हजको यात्राका क्रममा दर्ता नगरिएका इजिप्टेली तीर्थयात्रीमध्ये ६०० भन्दा बढीको मृत्यु भएको जानकारी आएपछि यो कदम चालिएको हो ।


हज मृत्यु सङ्कट एकाईको शनिबार आयोजित बैठकमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मडबौलीले यस्ता एजेन्सीहरूको इजाजतपत्र रद्द गर्न र संलग्न व्यक्ति र संस्थालाई सार्वजनिक अभियोजनबमोजिम कारबाही गर्न आदेश दिएका छन् ।

मक्काका लागि दर्ता नभएका तीर्थयात्रीका लागि अवैध र गैरकानुनी माध्यमबाट यात्रा आयोजना गर्ने एजेन्सी वा सम्बन्धित व्यक्तिको विवरण भने विज्ञप्तिमा उल्लेख गरिएको छैन । 

दर्ता भएका ५० हजारभन्दा बढी इजिप्टका तीर्थयात्रीमध्ये कुल ३१ जनाको ‘दीर्घकालिन रोग’ कारण मृत्यु भएको पुष्टि भएको प्रधानमन्त्री मडबौलीले जानकारी गराए ।  

बेपत्ता भएका इजिप्टेली तीर्थयात्रीहरूलाई सकेसम्म चाँडो फेला पार्न र सबै इजिप्टेली तीर्थयात्रीको घर फिर्तालाई सुनिश्चित गर्न विदेश मन्त्रालयले साउदी अधिकारीहरूसँग समन्वय जारी राख्ने विदेशमन्त्री सामेह शौकरीले उल्लेख गरे ।

इस्लाम धर्मावलम्बीको प्रमुख हज तीर्थयात्रा मक्कामा विश्वभरका मुस्लिम तीर्थयात्रीहरूद्वारा वार्षिक रूपमा आयोजना गरिन्छ । साउदी अधिकारीका अनुसार यस वर्ष तीर्थयात्रीहरूको सङ्ख्या १८ लाखभन्दा बढी पुगेको थियो । रासस/सिन्ह्वा


Author

थप समाचार
x