विश्व

बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान

इकागज |
असार २४, २०८१ सोमबार १६:५६ बजे

ढाका- बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गरेकी छिन् । 

हसिनाको चीन भ्रमणले बङ्गलादेश र चीनबीचको ‘रणनीतिक साझेदारी’ लाई ‘व्यापक रणनीतिक समन्वयात्मक साझेदारी’ मा उकास्ने विश्वास गरिएको ढाका ट्रिब्यूनले जनाएको छ ।


चिनियाँ राष्ट्रपति सी जिनपिङले अक्टोबर २०१६ मा बङ्गलादेशको भ्रमण गरेका थिए । जसमा दुई देशले आफ्नो सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ मा स्तरोन्नति गरेका थिए भने शेख हसिनाले अन्तिम पटक जुलाई २०१९ मा बेइजिङ भ्रमण गरेका थिए । ​

बङ्गगलादेशको दैनिक समाचारपत्र ‘द डेली स्टार’का अनुसार हसिना र उनको टोलीलाई लिएर विमान बङ्गलादेश एयरलाइन्सको विशेष उडान सोमबार बिहान ११ः०५ मा हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको थियो ।

चीन भ्रमणको क्रममा हसिनाले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली किआङसँग छुट्टाछुट्टै बैठक गर्ने छिन् भने दुई देशबीच व्यापार, व्यापार र लगानीका अवसरसम्बन्धी शिखर सम्मेलनमा भाग लिनेछिन् ।

ढाका र बेइजिङले २० वटा वा सोभन्दा बढी एमओयूमा हस्ताक्षर गर्ने र दुई पक्षबीचको द्विपक्षीय बैठकपछि केही विकास परियोजनाको उद्घाटन गर्ने सम्भावना रहेको डेली स्टारले जनाएको छ ।

बङ्गलादेशले लगानी र व्यापार, आर्थिक सहायता र रोहिङ्ग्याहरूलाई उनीहरूको मातृभूमिमा फिर्ता गर्ने क्षेत्रमा चीनको सहयोग माग्ने योजना तय भएको, विदेश मन्त्री हसन महमुदले  पत्रकार सम्मेलनमा जानकारी गराए । 

हसिनाको चीन भ्रमण अघि ढाकामा एक कार्यक्रमलाई सम्बोधन गर्दै अवामी लिगका महासचिव ओबैदुल कादरले भारतलाई बङ्गलादेशको राजनीतिक मित्र र चीनलाई यसको विकास साझेदारका रूपमा वर्णन गरेका थिए । 

चीनले बङ्गलदेशको धेरै क्षेत्रहरूको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताउँदै देशको समग्र प्रगतिको लागि चीनबाट समर्थन स्वीकार नगर्ने कादरलाई उद्धृत गरी द डेली स्टारले उल्लेख गरेको छ । 
रासस


Author

थप समाचार
x