विश्व

कम्बोडियाली विपक्षी नेतालाई १५ लाख डलर जरिवाना

इकागज |
साउन १०, २०८१ बिहीबार १२:३१ बजे

नोम पेन - कम्बोडियाको एक अदालतले सत्तारुढ दललाई बदनाम गरेको आरोपमा बिहीबार त्यहाँका विपक्षी नेतालाई करिब १५ लाख अमेरिकी डलर जरिवाना गरेको छ । 

गत फेब्रुअरीमा विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा क्यान्डललाइट पार्टीका नेता टिभ भ्यानोलले हुन मानेटको शासनकालमा राज्य ‘लोकतन्त्रको हिसाबले खराब हुँदै गएको’ बताएका थिए ।  हुन मानेटले सन् २०२३ मा आफ्ना पिता हुन सेनको करिब चार दशक लामो शासनपछि सत्ता सम्हालेका थिए । 


हुन मानेटलाई प्रधानमन्त्री बनाउनका लागि कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले पार्टीमा दिएको भारी समर्थन र मुख्य प्रतिद्वन्द्वी क्यान्डललाइट पार्टीलाई संसदीय निर्वाचनमा सहभागी हुनबाट रोक्ने प्रक्रियालाई भ्यानोलले ढोङको रूपमा निन्दा गरेका थिए । ​

नोमपेन म्युनिसिपल कोर्टले बिहीबार भ्यानोललाई ‘सार्वजनिक मानहानीको दोषी’ ठहर गर्दै वादी सीपीपीलाई छ अर्ब रियल (करिब १५ लाख अमेरिकी डलर) तिर्न आदेश दिएको छ । 

उनलाई एक करोड मिलियन रियाल (दुई हजार ४०० अमेरिकी डलर) तिर्न पनि आदेश दिइएको छ ।

फैसलाका समय भ्यानोल विदेशमा भएका कारण अदालतमा उपस्थित भएनन् । 

उनका वकिल चोङ चोङ्गीले अदालतको फैसलाबाट आफू निराश भएको र आफ्नो क्लाइन्टले ‘आफ्नो विचार व्यक्त’ मात्र गरिरहेको बताएका छन् । अपिल गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । 

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि हुन सेनले एक महत्वपूर्ण औपचारिक भूमिका ग्रहण गर्दै सिनेटको अध्यक्ष बनेका थिए । यसले उनलाई राजा विदेशमा हुँदा राज्यको कार्यवाहक प्रमुखको रूपमा कार्य गर्न अनुमति दिन्छ ।

निर्वाचन आयोगले सत्तारुढ दल सीपीपीको पक्षमा उभिएको दावी गरेपछि सन् २०२२ मा क्यान्डललाइट पार्टीका उपनेता सोन छायाँलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको थियो ।

उनलाई सत्तारुढ दललाई सात लाख ५० हजार डलर क्षतिपूर्ति र राज्यलाई चार हजार २५० डलर जरिवाना तिर्न आदेश दिइएको थियो ।
रासस


Author

थप समाचार
x