विश्व

सुरक्षाका लागि विद्यार्थी नेतालाई पक्राउ गरिएको बङ्गलादेशको प्रशासनको दाबी

इकागज |
साउन १२, २०८१ शनिबार २०:० बजे

ढाका - बंलादेशमा निजामती सेवामा आरक्षण (कोटा) प्रणालीको विरोधमा भएको प्रदर्शनले देशव्यापी अशान्ति मच्चाएपछि तीन विद्यार्थी नेतालाई उनीहरूको सुरक्षाका लागि नै हिरासतमा लिइएको बङ्गलादेशको प्रशासनले जनाएको छ ।

‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का प्रमुख नाहिद इस्लाम र प्रदर्शन समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको र सादा पोशाकमा आएका प्रहरीले उनीहरूलाई लिएर गएका थिए । 


सडक प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ । अस्पताल र प्रहरीले एएएफपीलाई दिएको तथ्यांकअनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच केही दिनयता चलेको झडपमा कम्तीमा २०१ जनाको मृत्यु भएको थियो ।

इस्लामले यसै साताको सुरूमा एएफपीसँग कुरा गर्दै उनको राजधानी ढाकाको एक अस्पतालमा उपचार भइरहेको बताएका थिए । 

इस्लाम र उनका दुई सहकर्मीलाई हिरासतमा लिएको भन्ने कुरा प्रहरीले सुरुमा अस्वीकार गरेको थियो तर गृहमन्त्री असदुज्जमान खानले शुक्रबार अबेर पत्रकारसँग कुरा गर्दै भने, “केही मानिसहरूले उनीहरूलाई धम्की दिएको र उनीहरूले असुरक्षित महसुस गरिरहेको सूचनापछि सुरक्षाकर्मीको नियन्त्रणमा राखिएको हो ।” 

उनले भने, “उनीहरूको सुरक्षाको लागि धम्की कसले दिइरहेको छ भनेर पत्ता लगाउन सोधपुछ आवश्यक छ । सोधपुछपछि हामी अर्को कदम चाल्नेछौँ ।”

खानले तीनै जनालाई औपचारिक रुपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गरेको छैन । 

गत हप्ता ढाकाका प्रदर्शनकारी र दङ्गा प्रहरीबीच सडक संघर्ष भएको र सरकारी भवन र प्रहरी चौकीमा आगजनीसमेत भएको थियो ।

आन्दोलनमा सहभागिता बढ्न थालेपछि हसिना प्रशासनले सेना परिचालन गरेको, देशव्यापी इन्टरनेट अवरोध गरेको र शान्ति बहालीका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो । 

प्रहरी र सरकार समर्थित विद्यार्थी समूहले गत हप्ताभन्दा पहिले शान्तिपूर्ण रूपमा रहेको ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’द्वारा आयोजित सडक र्‍यालीमा आक्रमण गरेपछि अशान्ति सुरु भएको थियो ।

समूहका प्रमुख संयोजक २६ वर्षीय इस्लामले सोमबार अस्पतालको शय्याबाट एएफपीसँग कुरा गर्दै उनको जीवनमाथि खतरा रहेको बताएका थिए । 

दुई दिनअघि प्रहरी जासुस दावी गर्ने एक समूहले आफूलाई आँखामा पट्टी बाँधी,  हत्कडी लगाई अर्को दिन बिहान रिहा हुनुअघि यातना दिन अज्ञात स्थानमा लगेको उनले बताए । 

प्रदर्शनको नेतृत्व गरेका अर्का सदस्य आसिफ महमुदले एएफपीसँग कुरा गर्दै गत साताको अशान्तिका बेला आफूलाई पनि प्रहरीले हिरासतमा लिएको र कुटपिट गरेको बताएका थिए । 

अशान्ति सुरु भएयता प्रहरीले कम्तीमा चार हजार ५०० जनालाई पक्राउ गरिसकेको छ ।

“हामीले राजधानीमा छापा मारेका छौँ र अपराधीलाई पक्राउ नगरेसम्म हामी छापा मार्ने क्रम जारी राख्नेछौँं,’ ढाका महानगरीय प्रहरीका संयुक्त आयुक्त विप्लवकुमार सरकारले एएफपीसँग बताए । 

उनले सुरक्षाकर्मीले सामान्य विद्यार्थीलाई पक्राउ नगर्ने तर सरकारी सम्पत्तिमा तोडफोड गर्ने र आगजनी गर्नेहरूलाई मात्र पक्राउ गरिने बताए । रासस


Author

थप समाचार
x