विश्व

भेनेजुएलामा मादुरो तेस्रो पटक विजयी, धाँधली गरेको आरोप

इकागज |
साउन १५, २०८१ मंगलबार १०:४२ बजे

काठमाडौँ- भेनेजुएलामा भएको राष्ट्रपतीय निर्वाचनमा निकोलस मादुरो फेरि सत्तामा फर्किएका छन् र उनी लगातार तेस्रो पटक भेनेजुएलाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर विपक्षीले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै नतिजामाथि प्रश्न उठाएका छन् । 

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेका थिए ।


भेनेजुएलाको निर्वाचन आयोग नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् । 

आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरूले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । एक्जिट पोलको नतिजाले पनि गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएको थियो तर, नतिजा आएसँगै विपक्षीहरू अचम्ममा परेका छन् । विपक्षीहरूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

वर्तमान राष्ट्रपति निकोलस मादुरोले यस चुनावमा संयुक्त विपक्षीबाट कडा चुनौती सामना गर्नुपरेको थियो । विपक्षी दलले चुनावी प्रचारका क्रममा विगत एक दशकदेखि चलिरहेको आर्थिक संकट समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

भेनेजुएलामा आर्थिक संकटका कारण करिब ७० लाख मानिस देश छाडेर अन्य देशमा बसोबास गरेका छन् । ७४ वर्षीय एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा रहेको विपक्षीले मदुरोविरुद्ध चुनाव लडेका थिए । तर उनले विगत ११ वर्षदेखि सत्तामा रहेका निकोलस मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।

भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनमा विजय हासिल गरेपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले भने 'परिणामपछि विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेका छन् । हामीले यो फिल्म धेरै पटक हेरेका छौं ।' 

मादुरोले अगाडि भने ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ ।'

अमेरिकी सरकारले भेनेजुएलाको चुनावी नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् । ब्लिन्केनले भने, 'परिणाममा निकोलस मादुरोलाई विजयी घोषणा गरिएको छ, तर यी निर्वाचन परिणामहरू सही नभएकोमा हामी चिन्तित छौं । घोषित निर्वाचन परिणामले भेनेजुएलाका जनताको इच्छालाई प्रतिबिम्बित गर्दैन ।'

भेनेजुएलामा विपक्षीले चुनावी नतिजामा धाँधली भएको गम्भीर आरोप लगाएका छन् । एक्जिट पोलको नतिजामा विपक्षी दलले बहुमत ल्याउने दाबी गरेपछि विपक्षी नेता र उनका समर्थकले जितको खुशी मनाउन थाले पनि अहिले चुनावी नतिजा आएपछि उनीहरूलाई ठूलो झट्का लागेको छ ।


Author

थप समाचार
x