विश्व

बंगलादेशका प्रदर्शनकारीहरू विरुद्ध 'अत्यधिक बल' प्रयोग गरेकोमा ईयूको चिन्ता

इकागज |
साउन १५, २०८१ मंगलबार १७:३३ बजे

फाइल फोटो

ढाका - कम्तीमा २०६  जनाको ज्यान जाने गरी भएको हिंसापछि युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेप बोरेलले मंगलबार बंगलादेशमा प्रदर्शनकारीहरू विरुद्ध 'अत्यधिक' बल प्रयोगको निन्दा गरेका छन् ।

यस महिना सरकारी सेवामा आरक्षण प्रणालीको विरोधमा भएको विद्यार्थीहरूको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रहरी र अस्पतालको तथ्यांक अनुसार घटनामा प्रहरी अधिकारीहरूको पनि ज्यान गएको थियो । ​


बोरेलले बंगलादेशको हिंसाले निम्त्याएको मृत्यु, यातना,  सामूहिक गिरफ्तारी र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले अनुसन्धान गर्न र जिम्मेवारलाई न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् ।

'कानुन प्रवर्तन अधिकारीहरू प्रदर्शनकारी र अन्य विरुद्ध अत्यधिक र घातक बल प्रयोग गरेको थुप्रै उदाहरणका लागि पूर्ण जवाफदेही हुनुपर्छ', उनले एक विज्ञप्तिमार्फत भने । 'हामी यस संकटको समयमा जिम्मेवार अधिकारीको कार्यहरू नजिकबाट पछ्याइरहेका छौँ । ईयू–बङ्गलादेश सम्बन्धको आधारभूत कुरालाई ध्यानमा राख्दै सबै मानव अधिकारको पूर्ण सम्मान हुने अपेक्षा गर्दछौं', उनले बताए । 

प्रधानमन्त्री शेख हसिनाको १५  वर्षको कार्यकालमा भएको यो सबैभन्दा घातक झडप हो तर उहाँको सरकारले व्यापक विरोध विरुद्ध गिरफ्तारी, सेना परिचालन र राष्ट्रव्यापी इन्टरनेट कटौतीजस्ता विभिन्न तरिका अपनाएर व्यवस्था पुनर्स्थापित गरेको छ । 


Author

थप समाचार
x