विश्व

मध्यपूर्वका सबै पक्षलाई 'उत्तेजक कार्य रोक्न' अमेरिकी विदेशमन्त्री ब्लिन्केनको आग्रह

इकागज |
साउन १७, २०८१ बिहीबार १४:१३ बजे

फाइल फोटो

काठमाडौं - मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गरेका छन् । 

इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो । 


इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियाको मृत्यु भएको थियो ।

सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित लडाकू समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका बेला यी हत्याहरू भएका हुन् ।

इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

मङ्गोलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको बताएका हुन् । 

ब्लिन्केनले मङ्गोलियन समकक्षीसहित गरेको पत्रकार सम्मेलनमा हिंसाको अन्त्य  युद्धविरामबाट सुरु हुन्छ र हामीले यसका लागि काम गरिरहेका छौँ ।

उनले भने, “युद्धविराम र शान्तिका लागिसबैभन्दा पहिले सबै पक्षसँग कुरा गर्न, कुनै पनि आक्रामक कदम चाल्न बन्द गर्न र द्वन्द्वरत पक्ष सहमतिमा आउने कारणहरू खोज्न आवश्यक छ ।”

बुधबार सिङ्गापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेका थिएनन् । 

इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियाको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न  उनले अस्वीकार गरे । 


Author

थप समाचार
x