विश्व

पाकिस्तानी पुर्वप्रधानमन्त्री खानकी पत्नी बुशराद्वारा उच्च अदालतमा पुनरावेदन

इकागज |
साउन १७, २०८१ बिहीबार १६:३१ बजे

पाकिस्तान - पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खानकी पत्नी बुशरा बीबीले पाकिस्तानस्थित तोसाखानाको तेस्रो मुद्दामा गिरफ्तारीबिरूद्ध उच्च अदालतमा पुनरावेदन गरेकी छिन् ।  

उनले अधिवक्ता सरदार लतिफ खोसामार्फत  पुनरावेदन दायर गरेको पाकिस्तानी पत्रिका  डनले जानकारी गराएको छ । इमरान खान र बुशरा बीबीलाई तोसखाना मुद्दामा जमानत दिएता पनि पुन: पक्राउ गरिएको थियो । 


रावलपिन्डीको अदियाला जेलमा गिरफ्तारीको क्रममा आफूहरूमाथि अपमान गरेको पुनरावेदनमा उल्लेख छ । साथै यसमा बुशरा बीबीलाई तेस्रो मामिलामा एनएबी अध्यक्षको पक्राउ पूर्जी बिना नै पक्राउ गरी राजनीतिक उत्पीडनसहित  जेलमा राखिएको दाबी गरिएको छ । 
 
निवेदनकर्ताले आक्रमणमा संलग्न जेलर तथा महिला अधिकारीविरुद्ध कारबाही गर्न अदालतलाई अनुरोध गर्दै गिरफ्तारीलाई अवैध घोषणा गर्नसमेत आग्रह गरेकी छिन् । 

यसैबीच, इमरान खानले पनि लाहोर उच्च अदालतमा पुनरावेदन दायर गरी आफूविरुद्धका मुद्दाहरूको विवरण मागेको डनले जनाएको छ । सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानी प्रधानमन्त्रीको रहनुभएका खान  अगस्ट २०२३ देखि तोसाखाना, साइबर आक्रमण र गैरकानुनी विवाहलगायतका अभियोगमा जेल जीवन  बिताइरहेका छन् ।   उनकी श्रीमती पनि महिनौँदेखि जेलमा छिन् । 


Author

थप समाचार
x