हमास नेता इस्माइलको हत्या दुई महिना अघि गेस्ट हाउसमा राखिएको बमबाट भएको दाबी
काठमाडौँ- इरानमा हत्या गरिएका हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या योजना दुई महिना अघि नै भएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
बुधबार इरानको तेहरानस्थित एक गेस्ट हाउसमा मारिएका इस्माइल बस्ने गेस्ट हाउसमा दुई महिना अघि नै बम राखिएको अमेरिकी मिडिया सीएनएनले आफ्नो स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
इरान र हमास दुवैले इस्माइलको हत्यामा इजरायलको योजना रहेको जिकिर गरे पनि इजरायलले यस विषयमा न त अस्वीकार नै गरेको न त खण्डन नै गरेको छ ।
हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हानियाको तेहरानस्थित आवासमा एक आक्रमणमा मृत्यु भएको बताएको छ ।
हमासका राजनीतिक चेहेरा रहेका इस्माइलको हत्यापछि इजरायल र हमासको जारी युद्ध अर्को चरणमा पुग्ने अनुमान गरिएको छ । इरानले इजरायलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि इजरायल सतर्क अवस्थामा रहेको छ भने अमेरिकाले इरानले इजरायलमा आक्रमण गरेमा इजरायललाई पूर्ण साथ दिने घोषणा गरिसकेको छ ।
यसअघि इस्माइलको हत्या रकेट प्रहारबाट भएको भनिए पनि मिडिया रिपोर्टमा दुई महिना अघि नै गेस्ट हाउसमा राखिएको बम विष्फोटबाट भएको दाबि गरिएको छ ।
इस्माइल हानिया हमासको राजनीतिक ब्यूरोका प्रमुख थिए भने उनी प्यालेस्टिनी प्राधिकरणको दशौं सरकारका प्रधानमन्त्री थिए । हाल धेरै जसो कतारमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग वार्ता र छलफलमा सहभागिता देखिँदै आएको थियो । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया