विश्व

बंगलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ जनाको मृत्यु

इकागज |
साउन २४, २०८१ बिहीबार १९:४१ बजे

कक्स बजार, बङ्गलादेश- युद्धग्रस्त म्यान्माबाट भागेर बंगलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

बंगलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कुल मृतकको सङ्ख्या ३४ पुगेको छ । 


उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बंगलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बंगलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताएका छन् । 

'रोहिंग्याहरू म्यान्माबाट आफ्नो ज्यान जोगाउन भागिरहेका छन्,' उनले भने  

'विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिङ्ग्याहरू बंगलादेशतर्फ भागेका छन्,' चौधरीले भने । 

अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बंगलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । 

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बंगलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए ।  

'अराकान सेनाले हामीमाथि आत्मघाती हमला गर्दै छन् । उनीहरू हामीलाई रखाइनबाट भगाउन चाहन्छन्,' उनले भने ।  

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बंगलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए । 

'हाम्रा सुरक्षा अधिकारी राजनीतिक झडप रोक्न व्यक्त भएकाले हामीले उनीहरूलाई तत्काल दुर्घटनास्थलमा पठाउन सकेनौँ,' चौधरीले भने । रासस/एएफपी  


Author

थप समाचार
x