ग्रीसको जंगलमा आगलागी, राजधानी एथेन्सतर्फ तीव्र रुपमा बढ्दै
काठमाडौँ - एथेन्सको उत्तरपूर्वी उपनगरहरूमा सोमबार ठूलो जङ्गलमा लागेको आगोलाई निभाउन अग्निनियन्त्रकहरूले संघर्ष गरिरहेका छन् । आगलागीले हजारौँ बासिन्दालाई आफ्नो घर छोड्न बाध्य बनाएको छ । ग्रीसको जंगलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । ग्रीस सरकारले अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेको छ ।
ग्रीस राजधानीमा यस्तो दृश्य कहिल्यै देखिएको थिएन । टेलिभिजन फुटेजले निया पेन्टेली र व्रिलिसियामा धेरै कार आगोले जलेको र घरका छानाहरू जलेको देखाएको छ ।
'एउटा विद्यालय र घरहरूमा आगो लागेको छ र म टाउन हलतिर आगो आइरहेको देख्न सक्छु', पेन्टेलीका मेयर नतासा कोस्मोपौलोले भने, 'स्थिति नाटकीय छ ।'
ग्रीसले सोमबार औपचारिकरूपमा युरोपेली संघ (इयु) सँग सहायताका लागि आव्हान गरेको एक प्रवक्ताले बताए ।
इयुका प्रवक्ता बालाज उज्वारीले विज्ञप्तिमा भने, 'ग्रीस अधिकारीहरूको अनुरोधमा इयुका नागरिक सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको थियो ।' उनले इटाली, फ्रान्स, चेक गणतन्त्र र रोमानियाले मद्दतका लागि युनिटहरू पठाएको जानकारी दिए ।
फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले पेरिसले आफ्ना कठिन दबाबमा परेका ग्रीस सहकर्मीहरूलाई सहयोग गर्न एक सय ८० अग्निनियन्त्रक, ५५ ट्रक र एउटा हेलिकप्टर पठाएको बताए ।
एथेन्सबाट करिब ३५ किलोमिटर उत्तरपूर्वमा रहेको वार्नभास सहरमा आइतबार दिउँसो डढेलो सुरु भएको थियो । हावाको तीव्रतासँगे आगो ३० किलोमिटरसम्म फैलिएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया