विश्व

डोनाल्ड ट्रम्पको कति छ ऋण, कति छ सम्पत्ति ?

इकागज |
भदौ २, २०८१ आइतबार १०:५२ बजे

काठमाडौँ- पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति सार्वजनिक भएको छ । रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार रहेका ट्रम्पले चुनावी प्रयोजनका लागि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

ट्रम्पले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीसँग गल्फ कोर्सदेखि रियल इस्टेटका सम्पत्तिहरू रहेको देखिएको छ । जसमा एक मिलियनभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी र साढे २ लाख डलर मूल्यको सुन रहेको छ । ट्रम्पले दुई सयभन्दा बढी पृष्ठहरूमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 


त्यस्तै ट्रम्पसँग एक मिलियन डलर र पाँच मिलियन डलरको बीचको इथरियमको स्वामित्व छ । 

त्यस्तै ट्रम्पको आफ्नै सोसल मिडिया प्लेटफर्म छ । यसलाई ट्रुथ सोसियल भनिन्छ, जुन गत मार्चमा सार्वजनिक भएको थियो । उनीसँग ११४ मिलियनभन्दा बढी शेयरहरू छन्, जसको प्रति शेयर मुल्य २३ डलर रहेको छ । अर्थात् हालको शेयर मूल्य दुई अर्ब डलरभन्दा बढी छ । यद्यपि ट्रम्पले लकअप सम्झौताको कारण यी शेयरहरू बेच्न भने सक्दैनन् ।

त्यस्तै ट्रम्पले ग्रीनवुड बाइबलको बिक्रीबाट ३ लाख डलर, त्यस्तै लेटर्स टू ट्रम्प बेचेर ४.४ मिलियन डलर, ए मेगा जर्नी यात्राबाट ५ लाख डलर कमाएको उल्लेख छ । त्यस्तै उनले द आर्ट अफ द डिलसहित धेरै पुस्तकहरूबाट रोयल्टीहरू प्राप्त गर्न जारी राखेका छन् ।

त्यस्तै ट्रम्पको न्यू जर्सीमा बेडमिन्स्टर गल्फ कोर्सले ३७ मिलियन डलर कमाएको छ भने फ्लोरिडामा रहेको उनको जुपिटर गल्फ कोर्सले ३१ मिलियन कमाएको उल्लेख छ । स्कटल्याण्डमा रहेको उनको टर्नबेरी गल्फ कोर्सले ३३.५ मिलियन डलर कमाएको रिपोर्टमा उल्लेख छ । त्यस्तै उनको फ्लोरिडामा प्रमुख रिसोर्ट मार-ए-लागोले ५६ मिलियन डलरभन्दा बढी कमाएको बताएका छन् ।

त्यसैगरी ट्रम्पले स्क्रिन एक्टर्स गिल्डबाट बार्षिक ९० हजार डलर पेन्सन प्राप्त गर्छन् भने एमएफटी र आईएनटीबाट लाइसेन्स शुल्कमा ७.१५ मिलियन कमाएको उल्लेख छ । त्यस्तै उनकी श्रीमती मेलानिया ट्रम्पले एनएफटी बेचेर ३ लाख ३० हजार डलर कमाएकी छिन् ।

यस बाहेक ट्रम्पले दुबईबाट ३० लाख डलर र ओमानबाट २० लाख डलरसहित विश्वभर लगानी गरेको उल्लेख छ ।

त्यस्तै ट्रम्पले आफ्नो विवरणमा ऋण रहेको समेत उल्लेख गरेका छन् । उनको जीन क्यारोललाई एक मिलियनदेखि ५ मिलियन डलर र न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयमा ५० मिलियनभन्दा बढी ऋण छन् । यी ऋणहरू कानुनी निर्णयहरू र व्यापार ठगी र यौन उत्पीडनका मुद्दाहरूसँग सम्बन्धित जारी अपीलहरूबाट उत्पन्न भएका ऋण रहेको उल्लेख छ ।


Author

थप समाचार
x