चीनका लागि जासुसी गरेको अभियोगमा चिनियाँ मुलका अमेरिकी ताङविरूद्ध मुद्दा दर्ता
काठमाडौँ - सन् १९८९ मा चीनको प्रजातान्त्रिक आन्दोलनमा भाग लिएका न्यूयोर्कका एक व्यक्तिलाई संयुक्त राज्य अमेरिकामा चिनियाँ सरकारको अवैध एजेन्टको रूपमा काम गरेको आरोपमा बुधबार अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
करिब २० वर्षअघि पौडी खेलेर ताइवान नियन्त्रित टापुमा पुगेका ६७ वर्षीय ताङ युआनजुनलाई पछि अमेरिकाले राजनीतिक शरण दिएको थियो ।
उनलाई बुधबार पक्राउ गरिएको थियो भने छिट्टै जिल्ला न्यायाधीशसमक्ष उपस्थित गराइने बताइएको छ ।
उनीविरूद्ध सन् २०१८ देखि सन् २०२३ सम्म संयुक्त राज्य अमेरिकामा जनवादी गणतन्त्र चीनको एजेन्टको रूपमा काम गरेको अभियोग लगाइएको न्याय मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ताङले ‘जनगणतन्त्र चीनको प्रमुख नागरिक गुप्तचर निकाय, राष्ट्रिय सुरक्षा मन्त्रालय (एमएसएस) को निर्देशनमा काम गरेको देखिएको छ,” अमेरिकी न्याय मन्त्रालयलले भनेको छ ।
ताङले एमएसएसका अधिकारीहरूलाई ‘जनगणतन्त्र चीनले सम्भावित विरोधीका रूपमा हेरेका व्यक्ति र समूह’ को बारेमा जानकारी प्रदान गरेको र यसमा ‘अमेरकास्थित प्रमुख चिनियाँ प्रजातन्त्रवादी अभियन्ता र असन्तुष्टहरू’ समावेश छन् ।
उनले आफ्नो एमएसएससँग कुराकानी गर्न प्रयोग गरिने इमेल अकाउन्टमा पहुँच नभएको दाबी गर्दै संघीय अनुसन्धान विभागमा झूट बोलेको आरोप पनि लगाइएको छ ।
बिहीवार एएफपीले यस मामिलाबारे सोधेको प्रश्नमा बेइजिङको विदेश मन्त्रालयले ‘उक्त विवरणबारे आफूलाई जानकारी नभएको’ बताएको छ ।
चीनको उत्तरपूर्वी जिलिन प्रान्तका बासिन्दा ताङलाई सन् १९८९ मा बेइजिङको तियानआनमेन स्क्वायरमा भएको हिंसात्मक झडपमा भाग लिएको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो ।
आठ वर्ष जेल बसाइपछि उनी रिहा भएका थिए ।
सन् २००२ मा ताइपेइस्थित एक अधिकार समूहका अनुसार ताङ चीनमा प्रजातन्त्रको पक्षमा वकालत गर्न सक्रिय रहे र ताइवान भाग्नुअघि उनलाई अधिकारीहरूले बारम्बार हिरासतमा लिने, सोधपुछ गर्ने र उत्पीडन गर्ने गरेका थिए ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया