विश्व

ह्यारिसद्वारा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता

इकागज |
भदौ ७, २०८१ शुक्रबार १४:४२ बजे

काठमाडौँ - अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार राति शिकागोको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक पार्टीको राष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन दर्ता गरेकी छिन् । यो उनको उम्मेदवारीका लागि पार्टीमा औपचारिक स्वीकृति हो । 

अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन स्वीकार गर्दै डेमोक्र्याट्सको तर्फबाट अमेरिकाको नेतृत्व गर्ने पहिलो अश्वेत महिला उम्मेदवार ह्यारिसले सम्मेलनलाई सम्बोधन गरेकी थिइन् ।  


चुनावसँगै राष्ट्रसँग विगतको वैमन्सयता तथा विभाजनकारी लडाइँहरू पार गर्ने बहुमूल्य, अवसर रहेको भन्दै उनले आफ्नो उम्मेदवारी कुनै एउटा पार्टी वा समूहको रूपमा मात्र नभई अमेरिकाको तर्फबाट भएको बताइन् । 

सम्बोधनमा ह्यारिसले भारतीय र अफ्रिकी मूलको प्रतिनिधिको रुपमा क्यालिफोर्नियाको महान्यायाधिवक्ता भई काम गरेको अनुभवलाईसमेत दर्शाएकी थिइन् ।  

सम्बोधनमा ह्यारिसले मध्यम वर्गको निर्माण आफ्नो राष्ट्रपतीय यात्राको प्रमुख लक्ष्य हुने बताउँदै गर्भपतन अधिकार, आप्रवासन नीति र विदेश नीतिलगायत अन्य विषयहरूमा पनि विस्तृत रूपमा व्याख्या गरिन् ।  

ह्यारिसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यनीतिमाथि टिप्पणी गर्दै ट्रम्पलाई ह्वाइट हाउसमा फिर्ता राख्ने परिणाम ‘अत्यन्त गम्भीर’ हुने चेतावनी दिइन् । 

सामाजिक सञ्जालमा रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले ह्यारिसको भाषणको आलोचना गर्दै उनी पूराना ‘अक्षमता’ र ‘कमजोरी’लाई लुकाउनका लागि उभिएको बताएका थिए । 


Author

थप समाचार
x