विश्व

इजरायलमा संकटकाल घोषणा

इकागज |
भदौ ९, २०८१ आइतबार १४:९ बजे

काठमाडौँ - लेबनानसँगको बढ्दो तनावका बीच इजरायलले आगामी ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको छ ।

इजरायलका रक्षामन्त्री योव ग्यालान्टले संकटकाल घोषणा गरेका छन् र  यसले इजरायली रक्षा बल (आईडीएफ) को आन्तरिक मोर्चाको नेतृत्वलाई प्रतिबन्धहरू जारी गर्न सहज हुनेछ । 


मन्त्रिपरिषद्ले विस्तार नगरेसम्म यो अवस्था ४८ घण्टाका लागि मान्य हुनेछ ।  

इजरायलमा तनाव बढ्दै गएको छ । यस क्षेत्रमा थप जोखिम बढेसँगै इजरायली नागरिकलाई उच्च सतर्कताका रहन भनिएको छ । 

आज बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएको छ । 

एक पत्रकार सम्मेलनमा आइडिएफका प्रवक्ताले भने, 'हिजबुल्लाहले दक्षिणी लेबनानबाट नजिक इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । यसको बदलामा इजरायलले हिजबुल्लाहमाथि आक्रमण गर्ने तयारी गरिरहेको छ । तसर्थ हामी उक्त क्षेत्रमा रहेका लेबनानी नागरिकलाई तुरुन्तै स्थान खाली गर्न आग्रह गरेका छौँ ।” 

'आईडीएफले इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक सबै तयारी गरिरहेको छ र गर्नेछ,'उनले भने ।  

गत महिना तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हानिया र लेबनानमा हिजबुल्लाह कमाण्डर मारिएपछि इरानले इजरायलसँग बदला लिने चेतावनी दिएको थियो । इरानको सम्भावित आक्रमणविरूद्ध  इजरायलले कडा प्रतिशोधको तयारी गरिरहेको छ । 
 


Author

थप समाचार
x