विश्व

अमेरिकामा कस्तो छ बालविवाह ?

निकोलास क्रिस्टोफ |
असार १३, २०७८ आइतबार १५:४७ बजे

sketch : new york times

अमेरिकाले विश्वका ग्वाटेमालादेखि जिम्वाबेसम्म बालविवाहविरुद्ध वर्षाैंदेखि क्याम्पेन चलायो । तर हामीले हामीलाई नै सुन्न जरुरी छ । अमेरिकाको ४५ वटा राज्यमा १८ वर्षभन्दा मुनि नै बालिकाले विवाह गर्न पाउने क्रम जारी छ । अमेरिकामा १० वर्षभन्दा कम उमेरका बालिकाहरूको पनि कहिलेकाहीँ कानुनी तवरमा बिहे गरिन्छ । नौवटा राज्यले भने विवाहको पूर्ण न्यूनतम उमेर पनि तय गरेको छैन । 

अमेरिकामा गरिएको एक अध्ययनअनुसार सन् २००० देखि २०१८ सम्ममा तीन लाख बालबालिकाको १७ वर्षभन्दा कम उमेरमा बिहे गरिएको थियो । यीमध्ये अधिकांश १६ र १७ वर्षका बालिका थिए । साथै उनीहरूको बिहे आफूभन्दा चार वर्ष जेठो पुरुषसँग भएको थियो । तर बिहे भएका हजारभन्दा बढी बालिकाहरूको उमेर भने १४ वर्ष र सोभन्दा कम थियो । पाँच जना त जम्मा १० वर्षका थिए । यीमध्ये केहीको विवाह आफूभन्दा धेरै जेठो पुरुषसँग भएको थियो । 


१४ औं जन्म दिन मनाएको केही दिनपछि प्याट्रिसिया अबेटमार्काेको बिहे भएको थियो । त्यतिबेला उनी कक्षा आठमा पढ्थिन् । १४ वर्षकी अबेटमार्काेको २७ वर्षे पुरुषसँग बिहे भएको थियो । ‘कसैले पनि मेरो रोजाइ सोधेन,’ अबेटमार्काे सम्झिन्छिन्, ‘यसमा केही पनि कुरा रोमान्टिक थिएन । म उनलाई माया गर्दिनथेँ । उनीप्रति क्रस पनि थिएन । उनी देखेर डर मात्रै लाग्थ्यो ।’ 

फ्लोरेन्सको अदालतका न्यायाधीशले उनीहरूको बिहे गराइदिएका थिए । त्यसपछि नवविवाहित जोडी पार्कमा गए, जहाँ दुलही खेलिन् भने दुलाहालाई भने जंगलको जिममा खेल्न पठाइयो । अबेटमार्काे अहिले ५५ वर्षकी भएकी छन् । उनको यो बिहेको बाटो भने १२ वर्षको उमेरदेखि नै सुरु भएको थियो । त्यतिबेला उनी मध्यमवर्गीय परिवारमा बस्थिन् । उनका बुवा–आमा धर्मनिरपेक्षताको पक्षधर थिए, तर अबेटमार्काे भने धार्मिक बन्न पुगेकी थिइन् । त्यतिबेला व्यक्तिगत समस्याको दौरानमा उनले एक ‘इभान्जिकल’ इसाई टेलिफोन हटलाइनमार्फत सहयोग मागेकी थिइन् । 

त्यहाँ काउन्सिलर मार्कले उनलाई निःशुल्क काउन्सिलिङको प्रस्ताव सुनाए । उनी त्यस काउन्सिलरकहाँ पुगिन् । काउन्सिलिङको नाममा उक्त काउन्सिलरले अबेटमार्काेलाई जबर्जस्ती पटकपटक बलात्कार गर्न थाल्यो । 

यी बलात्कारहरूबाट १३ वर्षको उमेरमा उनी गर्भवती भइन् । के गर्ने, उनले सोच्न सकिनन् । तर उनकी आमा र मार्कले बिहे गर्ने पक्ष लिए । यसले उनीहरूको समस्या समाधान हुन्थ्यो । बिहे नभई बच्चा जन्मिँदा समाजले लगाउने कलंकबाट आमालाई बचाउँथ्यो भने, मार्क बलात्कारको आरोपबाट बच्थ्यो । 

अबेटमार्को भने यो बच्चालाई जन्माउन चाहन्थिन् । बच्चा भयो भने उनलाई माया र सान्त्वना दिने कोही हुनेछ भन्ने आश थियो । दशकौँ पहिलेदेखि नै व्याप्त रहेका यस्ता समस्या अहिलेको समाजमा पनि छन् । थुप्रै युवाहरू अहिले पनि यस्तै कारणले बिहे गर्न बाध्य छन् । 

मैले अमेरिकाको बालविवाहबारे २०१७ देखि लेख्दै आएको हुँ । त्यतिबेला आफूलाई बलात्कार गर्ने पुरुषसँगै फ्लोरिडाकी ११ वर्षिया शेरी जोनसोनको पनि बिहे भएको थियो । विभिन्न बहानामा अमेरिकाको ५० वटै राज्यमा अहिले पनि बालविवाह हुने गरेको छ । 

‘अनचेन्ड एट लास्ट’ वकालत संगठनको कारण अमेरिकाको पाँच राज्यले १८ वर्षभन्दामुनिकी बालबालिकाको बिहे गर्न बन्देज लगाएको छ । त्यसमा डेलावेर, मिनेसोटा, न्यु जर्सी, पेन्सिलभेनिया र र्होड आइल्यान्ड रहेका छन् । न्युयोर्कले पनि उस्तै खालको विधेयक पास गरेको छ तर यसमा गभर्नरको हस्ताक्षर हुन बाँकी छ । 

अन्य राज्यहरूले अदालत र अभिभावकको मञ्जुरी भएमा बालविवाहका लागि अनुमति दिने गरेको छ । तर बिहे हुनेमा कतिपय बालिका गर्भवती हुन्छिन् भने कतिपयलाई आफ्नै बलात्कारीसँग बिहे गराइएको हुन्छ, जसको उमेर बालिकाको भन्दा धेरै हुन्छ । 

एक नयाँ अध्ययनअनुसार सन् २००० देखि हालसम्म ६० हजार अनमेल बिहे भएका छन्, जुन अपराध हो ।  ‘ती राज्यहरूमा बिहे भनेको लाइसेन्स हो । यही बिहेको लाइसेन्स प्रयोग गरेर बलात्कारीहरूले जेल सजायबाट उन्मुक्ति पाउँछन्,’ फ्रेडी रीले बताइन् । उनको पनि जबर्जस्ती विवाह भएको थियो । पछि उनी पनि अनचेन्ड एट लास्टमा आइपुगेकी थिइन् । 

यदि बालविवाहमा केही समस्या आयो भने महिलाहरूको सेल्टरले ती बालिकालाई स्वीकार गर्दैन । उनले अधिवक्ता पाउन पनि समस्या हुन्छ । उनले सम्बन्धविच्छेद गर्न पनि समस्या हुन्छ । किनकि बालबालिकाले अभिभावकविना कानुनी प्रक्रिया सुरु गर्नै सक्दैनन् । यदि कुनै पनि बालिका प्रताडित भएर प्रहरीकहाँ गुहार माग्दै पुगिन् भने पनि प्रहरीले उनीहरूलाई त्यही दुव्र्यवहार गर्ने पीडककहाँ नै पठाइदिन्छ ।  

अमेरिकाले बंगलादेश र यमनमा बालविवाह अन्त्य गर्न चलाएको अभियान एकदमै सही छ । यो अभियान आफ्नै घरमा पनि चलाउन आवश्यक छ । 

(न्युयोर्क टाइम्सबाट अनूदित)


Author

थप समाचार
x