विश्व

४९ युक्रेनी युद्धबन्दी किभ फर्केको जेलेन्स्कीको घोषणा

इकागज |
भदौ २९, २०८१ शनिबार ९:४१ बजे

युक्रेन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शुक्रबार ४९ युक्रेनी युद्धबन्दी रुसबाट फिर्ता गरिएको घोषणा गरेका छन् । युद्धबन्दीको समूहलाई बेलारुससँगको सीमामा स्वागत गरिएको थियो । 

सामान्यतया हुने गरेजस्तै यो रुससँगको आदानप्रदान थियो वा थिएन भन्नेबारे जेलेन्स्कीले स्पष्ट पारेनन् तर एएफपीका पत्रकारहरूले पहिले रुसी युद्धबन्दीहरूलाई सीमा नजिकैको बसमा राख्दै गरेको देखेका थिए । 


रुसको कुर्स्क क्षेत्रमा किएभको आश्चर्यजनक आक्रमणपछि युद्धरत दुवै मुलुकबीच यो दोस्रो आदानप्रदान हुनेछ । 

जेलेन्स्कीका अनुसार ‘आफ्नो बिरामी बुबाको हेरचाहका लागि आउँदा बन्धक बनाइएकी किशोरी’लगायतका सर्वसधारणहरू फर्किएका थिए । 

उनले यो आदानप्रदानमा मारियुपोलको सन् २०२२ अजोभास्टल युद्धका लडाकूहरूका साथै सैनिक, सीमा रक्षक र प्रहरी अधिकारी पनि समावेश रहेको बताए ।

एएफपीले युक्रेनी झन्डामा बेरिएका र फूल ग्रहण गरिरहेका दुई महिलाले उनीहरू सन् २०२२ मा घेराबन्दीपछि रुसको कब्जामा परेको अजोभास्टल संयन्त्रमा रहेको बताए । 

“अन्ततः म घरमा छु, मलाई विश्वास भइरहेको छैन”, युक्रेनको नेसनल गार्डको सशस्त्र वाहनका कमान्डर २८ वर्षीया तमारा मिरोशनिकोभाले भने । 

अजोभास्टलका लागि लडेकी अर्की २९ वर्षीया महिला टेटियाना बुगायले उनी अजोभ ब्रिगेडमा चिकित्सक रहेको बताए । 

यसअघि एएफपीले युक्रेनी सेनाले एउटा बसमा रुसी युद्धबन्दीहरूलाई लैजाँदै गरेको देखेको थियो । केहीले आफ्नो अनुहार लुकाउन हुड लगाएका थिए । एउटा मिनिभ्यानमा राख्दा उनीहरूको हुड हटाइएको थियो ।

एएफपीले तीमध्ये केहीसँग संक्षिप्त कुरा गरेको थियो र बोल्ने सबैले उनीहरूलाई गत महिना युक्रेनको आश्चर्यजनक कुर्स्क आक्रमणमा बन्दी बनाइएको बताएका थिए । (एएफपी)


Author

थप समाचार
x