विश्व

डढेलो निभाउन इयुबाट पोर्चुगललाई समर्थन प्राप्त

इकागज |
असोज १, २०८१ मंगलबार ७:५६ बजे

लिस्बन- पोर्चुगलले उत्तरी जङ्गलको डढेलो निभाउन सोमबार आफ्नो युरोपेली साझेदारहरूबाट समर्थनको वाचा प्राप्त गरेको स्थानीय अधिकारीहरूले बताएका छन् । डढेलो निभाउने क्रममा एक दर्जन अग्निनियन्त्रक घाइते भएका छन् । 

नागरिक सुरक्षा प्राधिकरणका अनुसार एभेइरो क्षेत्रमा सप्ताहन्तमा लागेको डढेलोको शृङ्खलामा १२ अग्निनियन्त्रक घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर रूपमा घाइते भएका छन् भने करिब ७० प्रतिशत स्थानीय  बासिन्दा भाग्न बाध्य भएका छन् ।


युरोपेली सङ्घ (इयु) का प्रमुख उर्सुला भोन डेयर लेयेनले सामाजिक सञ्जाल एक्समा युरोपेली मुलुकहरूलाई सुदृढीकरण पठाउन आह्वान गरेपछि चार देशले प्रतिक्रिया दिएको बताए । 

“हामी स्थानीय प्रथम प्रतिक्रियाकर्ताहरूलाई सहयोगका लागि हाम्रो नागरिक सुरक्षा प्रणालीमार्फत तत्काल आठ अग्निनियन्त्रक विमान परिचालन गर्दैछौँ, म फ्रान्स, ग्रिस, इटाली र स्पेनलाई उनीहरूको तुरुन्त प्रतिक्रियाका लागि धन्यवाद दिन्छु, यो इयुको ऐक्यबद्धता हो ।”

उच्च तापक्रम र तीव्र हावाका कारण पोर्चुगललाई शनिबारदेखि मङ्गलबार साँझसम्म अलर्टमा राखिएको थियो । सोमबार करिब दुई हजार तीन सय मानिस आगोसँग जुधिरहेका थिए ।

राष्ट्रिय नागरिक सुरक्षा कमान्डर आन्द्रे फर्नान्डिसले भने, “स्थिति नियन्त्रणभन्दा बाहिर छैन तर यो अत्यन्त जटिल छ, आज कठिन दिन हुनेछ र भोलि पनि यस्तै हुनेछ ।” 

पोर्टो सहरको दक्षिणी भागमा रहेको ओलिभिरा डि अनेमिसनजिकै आगो नियन्त्रण गर्ने प्रयासमा विश्राम लिने क्रममा आइतबार एक अग्निनियन्त्रकको मृत्यु भएको गृह मन्त्रालयले सोमबार बताएको छ ।

मेयर एन्टोनियो लोरेरोले दक्षिणमा अल्बर्गरिया–ए–वेल्हा क्षेत्रका दुई गाउँमा कम्तीमा दुई घर जलेको बताए । उनले भने, “अहिलेको समयमा हाम्रा घरमा आगो लागेको छ ।” (एएफपी)


Author

थप समाचार
x