विश्व

सञ्‍चार उपकरण विस्फोटको दोस्रो लहरपछि लेबनानको हेजबुल्लाह अव्यवस्थित

इकागज |
असोज ३, २०८१ बिहीबार १४:३७ बजे

काठमाडौँ - लेबनानको हेजबुल्लाह समूहले सञ्चारका लागि प्रयोग गर्ने उपकरण अभूतपूर्व विस्फोटको दोस्रो घातक लहरले यसलाई अव्यवस्थित बनाएको छ । 

उपकरण विस्फोटको पछिल्लो घटनामा बुधबार २० जनाको ज्यान गएको छ भने चार सय ४० भन्दा बढी घाइते भएको अधिकारीहरूले बताएका छन् ।  


हेजबुल्लाहले एकआपसमा सञ्चार गर्न प्रयोग गर्ने हाते पेजर एकै साथ विस्फोट हुँदा लेबनानभरी दुई बालबालिकासहित १२ जनाको मृत्यु र दुई हजार ८०० जना घाइते भएको एकदिन पछि बुधबार दोस्रो लहरको विस्फोट भएको हो ।  

बेरुतस्थित हेजबुल्लाहको गढमा यसका सदस्यहरूले प्रयोग गर्ने ’वाकी–टकी’ विस्फोट भएको नजिकको एक स्रोतले जानकारी गराएको छ भने दक्षिण र पूर्वी लेबनानमा पनि यस्तै विस्फोटको घटना भएको राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।  

एएफपिटिभीको फुटेजमा दक्षिण बेरुतमा हेजबुल्लाह लडाकुहरूको अन्त्येष्टि समारोहमा विस्फोट हुँदा मानिसहरुको भागाभाग भएको देखाइएको छ । 

“वाकी टकी लक्षित विस्फोटको लहरले २० जनाको मृत्यु हुनुका साथै चार सय ५० भन्दा बढी घाइते भएका छन्', लेबनानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

इजरायलले उक्त घटनाबारे कुनै टिप्पणी गरेको छैन । 

हारेट्ज पत्रिकाका अमोस हरेलले पेजर र वाकी–टकी विस्फोटले'इजरायल र हेजबुल्लाहलाई पूर्ण रुपमा युद्धको सँघारमा' पुर्याएको बताए । 

मध्यपूर्वमा तनाव बढ्दै जाँदा संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स र इटालीका वरिष्ठ कूटनीतिज्ञहरू बिहीबार पेरिसमा भेटवार्ता गर्ने  स्रोतले जनाएको छ ।  

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले कायरोमा गाजा युद्धविरामको सम्भावनाबारे छलफल गरेपछि फ्रान्सको राजधानीमा आफ्ना समकक्षीसँग वार्तामा सहभागी हुनुहुनेछ ।

लेबनानका विदेशमन्त्री अब्दल्लाह बोउ हबीबले हालको पेजर विस्फोटको घटना'लेबनानको सार्वभौमिकता र सुरक्षामा स्पष्ट आक्रमण“ भएको र यसले“व्यापक युद्धको सङ्केत“ दिने चेतावनी दिएको छ । 

हेजबुल्लाहले इजरायल'यस आपराधिक आक्रमणका लागि पूर्ण रूपमा जिम्मेवार' ठहराउदै बदला लिने वाचा गरेको छ । 

विश्लेषकहरुले पेजर हेजबुल्लाहलाई सुम्पिनुअघि अपरेटिभहरूले सम्भवतः विस्फोटक जडान गरेको हुनसक्ने बताएका छन् ।  

विस्फोटको बारेमा लेबनानी अनुसन्धानको प्रारम्भिक निष्कर्षले पेजरमा बुबी–ट्र्याप जडान गरिएको फेला परेको एक सुरक्षा अधिकारीले बताए । 

हेजबुल्लाहको नजिकको एक स्रोतले पेजरहरू'भर्खरै आयात गरिएको' र'उपकरण तोडफोड' गरिएको देखिने  जानकारी गराएको छ । 

हालैका महिनामा लक्षित आक्रमणहरूमा धेरै सेना गुमाएपछि आफ्नो सञ्चार सुरक्षाको बारेमा पहिले नै चिन्तित रहेको हेजबुल्लाहलाई यस आक्रमणले ठुलो झट्का दिएको छ । 
 


Author

थप समाचार
x