विश्व

ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि...

इकागज |
असोज ४, २०८१ शुक्रबार १२:२५ बजे

काठमाडौँ- प्रतिबन्धित सोसल मिडिया प्लेटफर्म एक्सले प्रतिबन्धका बाबजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा मच्चिएको छ ।

बुधबारबाट अचानक मोबाइलमा एक्सले काम गर्न थालेपछि सरकार आक्रोशित बनेको थियो । सरकारको आलोचनापछि बिहीबार फेरि एक्सको सेवा पूर्णरुपमा बन्द भएको छ । एक्सका मालिक एलोन मस्कले पनि यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो । 


एक्सलाई अघिल्लो महिना ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । ब्राजिलका मानिसहरूले एक्स प्लेटफर्ममा पहुँच गर्न सक्दैनन् र यदि तिनीहरूले यसका लागि भिपीएन आदि प्रयोग गर्छन् भने, उनीहरूले भारी जरिवाना पनि भोग्नुपर्ने चेतावनी सरकारले दिएको छ ।

प्रतिबन्धमा रहेकै बेला चलन थालेपछि सरकारले यो कदमलाई निलम्बनको जानाजानी उल्लङ्घन मानेका छन् । एक्सले भने अस्थायी रुपमा चलेको र यो अहिले बन्द गरिएको स्पष्ट गरेको छ ।

एक्स चलेको खबरपछि न्यायाधीश अलेक्जेन्डर डे मोरेसले राज्यको दूरसञ्चार एजेन्सी एनाटेललाई नेटवर्कमा पहुँच रोक्न आवश्यक कदम चाल्न पनि आदेश दिएका थिए । गत अप्रिलमा जब सर्वोच्च अदालतका न्यायाधीश अलेक्ज्याण्डर डी मौरियासले ‘एक्स’ मा अनुसन्धान गर्न आदेश दिएका थिए त्यसपछि एक्स र ब्राजिल सरकार आमने सामने भएका थिए । 

ब्राजिलमा एक्सका २२ मिलियन प्रयोगकर्ता भएको बताइएको छ । 


Author

थप समाचार
x