विश्व

अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश

इकागज |
असोज ६, २०८१ आइतबार २१:२ बजे

काठमाडौँ - वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ ।

अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ ।


अक्टोबर ७ मा हमास लडाकूहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ ।

इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ ।

अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ ।

गाजामा युद्ध सुरु भएयता अल जजिराका चार जना पत्रकार मारिएका छन् । गाजामा रहेको नेटवर्कको कार्यालयमा पनि बम हमला गरिएको थियो ।

 इजरायली सेनाले बन्द गर्ने आदेशको कारणबारे नबताएको अल जजिराले जनाएको छ ।

“अल जजिरालाई ४५ दिनका लागि बन्द गर्ने अदालतको फैसला छ”, एक इजरायली सैनिकले अल जजिराका वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कुराकानीमा भने । फुटेजअनुसार ती सैनिकले भने, “म तपाईंलाई सबै क्यामेराहरू लिएर यही क्षण कार्यालय छोड्न अनुरोध गर्दछु ।”

अल जजिराका अनुसार ओमारीले आदेशमा नेटवर्कमाथि ‘आतङ्कवादलाई उक्साएको र समथर्न गरेको’ आरोप लगाइएको बताए । ओमारीले भने, “पत्रकारहरूलाई यस प्रकारले लक्षित गर्नुको उद्देश्य सधैँ सत्यलाई मेटाउनु र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”


Author

थप समाचार
x