विश्व

सिमेन्टमा जमेको अवस्थामा १६ वर्षपछि दक्षिण कोरियाली महिलाको शव फेला

इकागज |
असोज ८, २०८१ मंगलबार १९:५ बजे

सांकेतिक फोटो

काठमाडौँ - दक्षिण कोरियाली एक पुरुषले १६ वर्षअघि आफ्नी प्रेमिकाको हत्या गरेको र उनको शवलाई आफ्नो बालकोनीमा सिमेन्टको तहमुनि गाडेको स्वीकार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले मङ्गलबार बताएको छ ।

ग्योङ्गनाम प्रान्तीय प्रहरी र गेओजे प्रहरी चौकीका अनुसार हाल ५० वर्ष उमेरका ती पुरुषलाई सन् २००८ अक्टोबरमा एउटा झगडाका क्रममा महिलाको हत्या गरेको आरोप लगाइएको छ । 


 प्रहरीका अनुसार उनले महिलालाई कुनै भुत्ते हतियारले प्रहार गरी हत्या गरे र उनको शरीरलाई एउटा ठूलो यात्रा झोलामा राखे ।

त्यसपछि उनले शवलाई आफ्नो बालकोनीमा इँटा थुपारेर १० सेन्टिमिटर मोटो सिमेन्टको तह खन्याएर लुकाए । ती महिला आफ्नै परिवारसँग सम्पर्कमा नभएकाले तीन वर्षपछि मात्र हराएको रिपोर्ट गरिएको थियो । 

सन् २०११ को हराएको व्यक्तिको जाँचका क्रममा ती पुरुषले प्रहरीलाई उनीहरूको ‘ब्रेकअप’ भएको बताएका थिए र प्रमाणको अभावमा मुद्दा सुल्झिएको थिएन ।

शवलाई सानो बालकोनीको स्थानमा फिट गरिएको र त्यो कोठा ‘सन् २०१६ देखि लगभग खाली’ रहेकाले शवको खोजी पहिले नगरिएको एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताए ।

 त्यस वर्ष अपराधीलाई लागूऔषध प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो र घरधनीले उक्त सम्पत्ति भण्डारण स्थानका रूपमा प्रयोग गरिएको बताएका थिए ।

गत महिना पानी चुहावटको खोजी गर्दा एक कामदारले यात्रा झोला फेला पारेपछि शव फेला परेको थियो । निरीक्षण गर्दा प्रहरीले महिलाको शव ‘केही हदसम्म संरक्षित’ भएको पाएको थियो ।

“शरीर पूरै रूपमा हाडखोरमा परिणत नभएकाले हामीले औँठाछापमार्फत उनको पहिचान गर्न सक्यौँ”, प्रहरीले भनेको छ । ती पुरुषलाई सोधपुछका लागि ल्याइएपछि अन्ततः उनले हत्या स्वीकार गरेका थिए । 

प्रहरीले ती पुरुषलाई ‘अभियोजनका लागि पठाइने’ बताएको छ । 


Author

थप समाचार
x