विश्व

पाकिस्तानलाई आईएमएफले दियो ७ अर्ब डलर ऋण

इकागज |
असोज १०, २०८१ बिहीबार १४:५२ बजे

फाइल फाेटाे

काठमाडौँ - अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटमा फसेको पाकिस्तानलाई ७ अर्ब डलरको ऋण दिने निर्णय गरेको छ। पाकिस्तानी प्रधानमन्त्री कार्यालयले आईएमएफको सञ्चालक समितिले यो ऋणलाई अनुमोदन गरेको जानकारी दिएको छ।

पाकिस्तानी अर्थतन्त्रलाई सुधार गर्न र आर्थिक स्थिरता ल्याउन प्रधानमन्त्री शेहबाज शरिफको सरकारको आग्रहपछि आईएमएफले यो राहत दिएको हो। तर, ऋण स्वीकृतिका लागि पाकिस्तानले कृषि कर प्रणाली सुधार, वित्तीय अनुसन्धानमा पारदर्शिता र राज्यका अन्य आर्थिक सुधारका प्रतिवद्धता जनाउनु परेको छ।


पाकिस्तानले यसअघि सन् १९५८ यता २२ पटक आईएमएफबाट ऋण लिइसकेको छ । जुन पछिल्लो समय अझै बढ्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार, पाकिस्तानको कुल बाह्य ऋण १३० अर्ब डलर पुगेको छ, जसमा मात्र ३० प्रतिशत हिस्सा चीनको छ।

आगामी तीन वर्षभित्र पाकिस्तानले ९० अर्ब डलर ऋण चुक्ता गर्नुपर्ने अवस्थामा छ, जसले देशलाई अझै गहिरो आर्थिक संकटमा पुर्याउन सक्छ। आईएमएफको पाँचौं ठूलो ऋणी राष्ट्र बनेको पाकिस्तानले आईएमएफकै ६.२८ अर्ब डलर ऋण तिर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा, आईएमएफको नयाँ ऋण पाकिस्तानका लागि राहत हो या थप ऋणको चक्रव्यूह? प्रश्न अनुत्तरित छ।
 


Author

थप समाचार
x