विश्व

चीनद्वारा ‘लेबनानको सार्वभौमसत्तामा हस्तक्षेप’ को विरोध

इकागज |
असोज १६, २०८१ बुधबार ७:२ बजे

बेइजिङ- इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ । साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ । 

इजरायली सेनाले मङ्गलबार दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै स्थल आक्रमण सुरु गरेको बतायो । यसले सयौँ मानिसहरूको ज्यान लिएको एक साताको तीव्र हवाई आक्रमणपछि द्वन्द्वलाई अझ बढाएको छ । 


यद्यपि लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको बताएको छ भने इरान समर्थित हिजबुल्लाहले कुनै पनि सैनिकले सीमा पार गरेको कुरालाई अस्वीकार गरेको छ ।

क्षेत्रीय टकरावलाई रोक्न अन्तर्राष्ट्रिय आह्वानका बाबजुद इजरायलले दक्षिण बेरुत, दमास्कस र गाजालाई लक्षित गरेको बेला यी दाबीहरूलाई तत्काल प्रमाणित गर्ने कुनै उपाय थिएन । 

“चीन लेबनान र इजरायलबीच विद्यमान अवस्थाबारे अत्यन्त चिन्तत छ र सम्बन्धित सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव अझ बढ्नेबारे चिन्तित छ”, चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार एक वक्तव्यमा भन्यो, “चीन लेबनानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घनको विरोध गर्दछ र द्वन्द्वलाई बढाउने तथा क्षेत्रीय स्थितिलाई थप उत्तेजित पार्ने यस्ता कार्यको विरोध गर्दछ ।”

बेइजिङले वक्तव्यमा इजरायलसँग ‘परिस्थितिलाई शान्त पार्नका लागि ठोस कदम चाल्न’ आग्रह गरेको छ । (एएफपी)


Author

थप समाचार
x